बुक बसमा विद्यार्थीको आकर्षण

गुगलपाटी संवाददाता
२३ माघ २०७६ १२:०१

 धादिङका विभिन्न विद्यालय र समुदायका लागि लक्षित गरी बुक बस अर्थात् घुम्ती पुस्तकालय सञ्चालनमा ल्याइएको छ। गुड्ने बसलाई पुस्तकालयका रुपमा सजाएर गाउँगाउँमा पु¥याइने भएकाले त्यस पुस्तकालय हेर्ने सर्वसाधरणको घुइँचो लाग्ने गरेको छ।

अमेरिकी दुतावासको सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवर्द्धन सेवा उपलब्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित बुक बस अमेरिकन स्पेस कार्यक्रम अन्र्तगत सञ्चालन आएको हो। घुम्ती पुस्तकालय सेवा माघ १५ देखि फागुन ७ सम्म गजुरी, आदमघाट र बैरेनीका विद्यालय एवं समुदायमा रहनेछ।

आदर्श मावि गजुरी, बागेश्वरी मावि बैरेनी र सत्यवती मावि आदमघाटमा बुक बसले कार्यक्रम सञ्चालन गरिरहेको छ। फागुन ५ र ६ मा बुक बसका प्रशिक्षक र धादिङका विद्यार्थीहरुले गरेका कामहरुको संयुक्त प्रदर्शनी गर्ने जनाएको छ। प्रदर्शनीमा विद्यार्थीले कोरेका चित्रका साथै उनीहरुले रचना गरेको कथा, कविता, गीत प्रस्तुत गर्ने छन्। बुक बसले तीन सातासम्म धादिङका विद्यालयहरुमा कला तथा भाषा विज्ञान र प्रविधिको विकाससँगै पठन संस्कृतिबारे पठन कार्यक्रम आयोजना गर्ने जनाएको छ।

बाहिरबाट झट्ट हेर्दा दमकलजस्तो देखिने बसभित्र सुविधा सम्पन्न पुस्तकालयमा झैं पुस्तकहरु सजाएर राखिएका छन्। मोबाइल लाइब्रेरी विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ल्याइएको पुस्तकालयमा उत्साहजनक सहभागिता भएको  वागेश्वरी माध्यमिक बिद्यालय बैरेनीका प्रधानाध्यापक राजनप्रसाद अधिकारीले बताए।

बुक बसमा विद्यार्थीले बसभित्र राखिएका पुस्तकालयबाट आफूलाई मन परेको किताब झिकेर पढ्न पाउने छन्। बुक बसमा दुई हजार जति पुस्तक रहेका छन्।

स्रोत: थाहाखबर