हेटौंडा रन : भद्रगोल व्यवस्थापन

गुगलपाटी संवाददाता
२५ माघ २०७६ १३:०८

मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौंडा रन भएको हो । पर्यटन वर्षलाई सफल वनाउनका लागि हेटौंडामा एकै पटक करिब एक हजार मानिस खुल्ला म्याराथुनको रुपमा दौडिएका हुन् ।
केहि दिन अघि नै आयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उत्कृष्ट व्यवस्थापन र करिब ७ हजार मानिसको सहभागितामा हेटौंडा रन हुने जनाएको थियो । तर सहभागिता भने करिब एक हजार मात्रै रहेको थियो । प्रचार प्रसारको अभावमा जिल्ला बाहिरबाट हुने सहभागिता उल्लेख्यिय नभएको हो । यस्तै उद्घाटन कार्यक्रमको व्यवस्थापन समेत फितलो रहेको थियो । दौडमा सहभागी हुने धावकहरुलाई आधा घण्टा अगाडीबाट दौड सुरु हुने स्थानमा जम्मा गरि मञ्चमा आसन ग्रहण र भाषण कार्यक्रम भएको थियो । मर्यादाक्रम समेत विग्रिएको उक्त उद्घाटन समारोहमा बजाईएको राष्ट्रिय गानमा समेत विच विचमा अर्को गित प्राविधिक कारणले बजेको थियो । दौडमा सहभागी केहिले भने धेरै बेर उभ्याएको र खेलकुदको कार्यक्रम भद्दा भएको बताएका छन् । राजनीतिक दलका नेताहरुले भाषण गर्ने थलो नभएको भन्दै केहि सहभागी आक्रोशित समेत भएका थिए ।
अजित र सन्तोषी प्रथम


पुरुष तर्फको १० किलोमिटर दौडमा शसस्त्र प्रहरीका अजित कुमार यादव प्रथम भए । उनले नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली सेनाका टंक कार्की दोस्रो भएका छन् । उनले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी शसस्त्र प्रहरीकै गणेश सिंह ठकुरी तृतीय हुँदै नगद २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका हुन् । दौडमा शिव रायमाझी सान्त्वना हुँदै १० हजार र पाँचौ भएका जीवन लामाले ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

यस्तै महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा सन्तोषी श्रेष्ठ पहिलो भएकी छिन् भने नेपाल प्रहरीका राजपुरा पछाईं दोस्रो भएकी हुन् । तृतियमा नेपाली सेनाका सरस्वती भटराई, चौथोमा नेपाल प्रहरीका विर्सना कुमाल, पाँचौमा जुनेली सुनार भएका हुन् । उनिहरुले पनि क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण प्राप्त गरेका छन् ।