चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाकः बिजुक्छे

गुगलपाटी संवाददाता
२७ माघ २०७६ १२:०१

हेटौंडाः भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन्। उनीहरूले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन्। यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताए। उनले सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेपछि यस्तो बताएका हुन्। विजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीलाई नेपाल फर्काउने र तिनीलाई काठमाडौँका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनु भन्दा चीनमै राख्नु उनीहरूका लागि सुरक्षित रहेको बताए। चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पाइए त्यसले काठमाडौँमा महामारीको रूप लिन सक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उनले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताए। कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उनले चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताए। सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभई उपत्यकामै राख्ने निर्णय गलत रहेको बताए। नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले चीनको वुहानबाट फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न नहुने बताउँदै बस्तीको बीचमा राख्दा यसले ठूलो जोखिम निम्त्याउने बताए। उनले चीनबाट फर्काइएका नेपालीमा नेपाल आइपुग्दा संक्रमण भएको पाइए त्यसले संकट निम्त्याउने भन्दै अहिलेसम्म केही नबिग्रिएकाले मानवबस्तीमा राख्ने तयारीलाई रोक्नुपर्ने बताए। यता नेपाली कांग्रेसले विज्ञप्ति निकालेरै त्यसको विरोध गरेको छ। नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले कोरोना भाइरसलाई अहिलेसम्म गम्भीर रूपमा नलिएको बताउँदै संक्रमण भए उपचार कसरी गर्ने भन्नेसमेत तयारी नगरेको बताए। नेपाललाई संक्रमणबाट कसरी जोगाउने भन्नेमा सरकार गम्भीर नभएको बताउँदै उनले भक्तपुरको मानवबस्ती बीचमा जटिल रूप लिने भाइरसको जोखिम भएका व्यक्तिलाई ल्याएर राख्ने सरकारको निर्णय सच्याउन माग गरे। राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीयको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै यहाँका जनताले जोखिम नसहने र यसबाट आइपर्ने कुनै पनि घटनाको जिम्मेवार सरकार हुने बताए। उनले भक्तपुरमा मात्रै नभई मानवबस्तीको बीचमा चीनबाट फर्कने नेपालीलाई राख्न नहुने जनताको आवाजलाई सरकारले सुन्नै पर्ने बताए। स्थानीय जनताले आज पनि त्यस क्षेत्रमा सरकारको निर्णयको विरोध गरेका छन् भने स्थानीय बासिन्दा त्रासमा बसेका छन्। चाँगुनारायण नगरपालिकाले यसअघि नै नगरसभाबाटै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेको छ।
स्रोतः थाहाखबर