सामरीखोलामा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

गुगलपाटी संवाददाता
२७ माघ २०७६ १३:५२

हेटौंडाः अध्यात्म कल्याणकारी समाज नेपाल उपसमिति मकवानपुरगढीको आयोजनामा गढी–२ कुर्लेदमार बाँसपानीको सामरीखोला किनारमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अरुन्धति सहित सप्तऋषि, राधाकृष्ण मन्दिरको निर्माण र हाट बजारको संरचना निर्माण गरी स्थानीय धार्मिक क्षेत्र र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सोमबारबाट महायज्ञ सुरु भएको हो । महायज्ञमा चर्चित युवा पण्डित सुदर्शन चालिसेले संगीतमय भागवत तथा कथा वाचन गरिरहेका छन् । महायज्ञको उद्घाटन हुनुपूर्व विहान कलशयात्राले गाउँ परिक्रमा गरिएको थियो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले महायज्ञको उद्घाटन गरेका हुन् । फागुन ५ गतेसम्म सञ्चालन हुने सप्ताहमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य शोभा घिमिरे, नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, दोर्जे लामा स्याङ्तान, राप्रपा जिल्ला सचिवालय सदस्य अर्जुनप्रसाद गौतम, वंशगोपाल प्राविधिक विद्यालयका प्रधानाध्यापक लिलानाथ ढुङ्गेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम लालकुमारी अधिकारीको अध्यक्षतामा भएको हो ।