औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।
चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा‚ जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिनु भएको थियो ।
सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनुभयो । ‘खोला तथा नदीमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि‚ अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन‚ कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग‚ संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं‚ उहाँले भन्नुभयो‚ ‘अब मुलुकपूर्ण रुपमा लोडसेडिङमुक्त भएको छ ।’ अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिनुभयो ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था‚ उत्पादन केन्द्र तथा प्रसारण/बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या‚ मर्मत सम्भार एवम् विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गर्नु भयो ।‘बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्इ समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु।’