प्रदेशको भौतिक मन्त्रीमा मुख्य सचेतक फुयाँल

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७६ १३:३०

बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँलले सोमबार प्रदेश प्रमुख विष्णु प्रसाईबाट सपथ लिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशका मन्त्रीहरुको उपस्थितीमा मन्त्री फुयाँलले सपथ लिएका हुन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमान्डौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निवार्चित फुयाँललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
मन्त्री फुयाँल यसअघि संविधानसभाका सदस्य समेत रहेका थिए । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापीतलाई २०७५ कार्तिक १६ गते मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछी रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री आफैले समाल्दै आएका थिए । यस अघि पटक पटक सपथ लिने हल्ला चले पनि प्रदेश सरकारले विविध कारण देखाउदै सपथ रोकेको थियो ।


तीन महिनामा मन्त्रालयको प्रगती विवरण सार्वजनिक गर्छु : मन्त्री फुयाँल
बागमती प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले सपथ ग्रहण पश्चात पत्रकारहरु सँग संक्षिप्त कुराकानी गर्दै प्रत्येक तीन तीन महिनामा मन्त्रालयको प्रगती विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । पहिलो काम सुरुङ मार्गबाट सुरुगर्ने बताए । प्रधानमन्त्रीको सपना र मुख्य मन्त्रिको निर्देशन बमोजिम सुखी नेपाली, समृद्ध नेपाल बनाउने तर्फ लाग्नु पर्ने भन्दै आफु उक्त लक्ष्य तर्फ लाग्ने बताए । मन्त्री फुयाँलले बागमती प्रदेशको विकासको मोडल मौलिक हुने बताए ।