बाँस्कोटालाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई दाहालको सल्लाह

गुगलपाटी संवाददाता
८ फाल्गुन २०७६ ०८:१२

हेटौंडाः बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार ओली र दाहालबीच सञ्चारमन्त्री बाँस्कोटाको विषयमा छलफल भएको हो। प्रधानमन्त्रीको विश्वासको पात्रको रूपमा परिचित रहेका बाँस्कोटाको कमिसनको अडियो सार्वजनिक भएपछि अध्यक्ष दाहालले तत्कालै पदमुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताइएको छ। प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटारमा बोलाएको बताइएको छ। तर, प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बोलाएको नभएर छलफलको लागि बाँस्कोटा स्वयं आउने बताए। सुदूरपश्चिमको कञ्चनपुरतिर पुगेको बाँस्कोटाले भने एक कार्यक्रममा बोल्दा आफूमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिएका छन्। अहिले बाहिरिएको अडियोबारे सत्यतथ्य चाँडै बाहिर आउने बताएका छन्। केहीदिनअघि प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटाको गृहजिल्ला पुगेर बाँस्कोटा सरकारको लागि खास मान्छे भएको प्रतिक्रिया दिएका थिए।
स्रोतः थाहाखबर