दिल्लीमा अझै त्रास, भड्काउ भाषण दिने नेतालाई पक्राउ गर्न अदालतको आदेश
गुगलपाटी संवाददाताहेटौंडाः विगत तीनदिनदेखि हिंसात्मक प्रदर्शनका कारण तनावपूर्ण रहेको भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्र बुधबार भने शान्त रह्यो । बुधबार अपराह्न मौजपुर, बाबरपुर पुग्दा देखिएका दृश्य मंगलबार भएको कहालीलाग्दो हिंसा बुझाउन पर्याप्त थिए । सडकका छेउछाउमा जलेका सवारीसाधनहरू यत्रतत्र थिए । चोकचोकमा इँटाका थुप्रा थिए, सडकछेउका पसलहरू प्रायः पनि कुनै सद्दे थिएनन् ।
सोमबार र मंगलबार सबैभन्दा बढी हिंसात्मक घटना भएका जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी क्षेत्र पूरै सुनसान थियो । पसलहरू सबै बन्द थिए भने सवारीसाधन फाट्टफुट्ट मात्र चलेका थिए । अधिकांशको सिसा फुटाइका थिए भने कतिपयमा आगजानीसमेत गरिएका थिए । मंगलबार सबैभन्दा बढी क्षति मौजपुर र गोकुलपुरीको टायर बजार र कबाडी बजारमा पुगेको थियो ।
परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजालसँग भेट गरेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।
बुधबार स्थिति शान्तिपूर्ण रहे पनि त्यहाँमा बासिन्दामा अझै पनि भय र त्रास रहेको देखिन्छ । तर, स्थानीय बासिन्दाहरूमा अहिले भने भय र त्रास कायमै छ । स्थानीयहरू बाहिरका मानिससँग बोल्नबाट अझै डराइरहेका थिए । स्थानीयहरू घरका छतबाट सडकको दृश्य नियालिरहेको देखिन्थे । केही स्थानीयहरूले समयमै पर्याप्त मात्रामा सुरक्षाफौज तैनाथ गरिएको भए हिंसात्मक घटना हुने थिएन भन्दै आक्रोशसमेत व्यक्त गरे ।
यसैबीच, दिल्ली उच्च अदालतले भड्काउ भाषण दिने कपिल मिश्रलगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको छ । भारतीय जनता पार्टीका दिल्ली नेता कपिल मिश्रले गत आइतबार नागरिकता ऐनको विरोधमा प्रदर्शन गरिरहेकालाई तीन दिनभित्र प्रदर्शन अन्त्य गर्न अन्यथा आफूहरूले जे पनि गर्न सक्ने भन्दै खुला चुनौती दिएका थिए । मिश्राले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शनले दंगाको रूप लिएको थियो । सोमबार र मंगलबारसम्म भएको दंगामा परेर एक प्रहरीसहित २७ जनाको ज्यान गएको छ भने २ सय ५० घाइते भएका छन् ।
स्रोतः कान्तिपुर