मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन
गुगलपाटी संवाददातामनहरीः फागुन १४ गते बुधवार दिउँसो ३ बजे मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन गर्न अनुगमन टोली पुग्यो । ट्रयाक्टरले राजश्व रसिद काटे–नकाटेको चेकजाँच गर्नुहुँदै अनुगमन टोली प्रमुख कोइराला ।
डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घ नारायण कोइरालाको नेतृत्वमा रहेको टोलीमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, इन्जिनियरहरु, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुकुन्द कार्की, पर्सा राष्ट्रिय निकुन्जका रेन्जर बिनयकुमार झा, सञ्चारकर्मी शिवकुमार काशीसहित सहभागी थिए ।
टोलीले ज्यामिरेस्थित हाइ वे मै ट्रिपर रोकेर निकासीको बैधानिक कागजपत्र खोज्यो । त्यसपछि स्वस्तिक क्रसर उद्योगबाट राप्ती बगर पुग्ने नाकामा चेकजाँच गरियो । कतिपय ट्रयाक्टरहरु डरले भागे । अनुगमनका क्रममा ढुवानीका लागि दिइने रसिदमा गाउँपालिकाका प्रतिनिधिले हस्ताक्षर नगरेको पाइएपछि तुरुन्तै हस्ताक्षर र परिमाण लेख्न भनियो ।
एक मिटरभन्दा बढी गहिरो खनिएको क्षेत्रमा पुन खाल्डो पुर्न लगाइँदै ।
त्यसपछि ट्रिपर चढेर टोली पुग्यो चौधमाइल । जहाँ गाउँपालिकाले छनौट गरेका उत्खनन्कर्ताले ३ वटा एक्साभेटरबाट उत्खनन् गरिरहेको थियो । टोली प्रमुख कोइरालाले एक्साभेटर रोकेर उत्खनन् अनुमति पत्र, अपरेटरको लाइसेन्स माग्नुभयो । तर, एक्साभेटर अपरेटरले ‘लाइसेन्स घरमा छ’ भन्ने जबाफ दिएपछि उत्खनन् बन्द गरियो र लाइसेन्स ल्याएपछि मात्रै मेसिन चल्न दिने भनेर अर्को केन्द्र पुगियो । जहाँ माथि हाइ वेबाटै उत्खनन्को तस्वीर खिच्न मिल्ने अबस्था थियो । त्यहाँ नदीको सतहभन्दा बढी गहिरो खनिएको पाइएपछि टोलीले तत्कालै एक्साभेटर नियन्त्रणमा लिएर अघिल्लो केन्द्रमा झै अनुमति पत्र, चालक अनुमति सबै माग भयो । अपरेटर खाजा खान गएको छ भन्ने जबाफ आएपछि टोलीले एक्साभेटरको चाबी लियो ।
पछि अपरेटर अनुमतिपत्र सहित आएपछि नदीको सतहभन्दा गहिरो खनिएको स्थानमा अन्यत्रबाटै ग्रेवल ल्याएर पुर्न लगाइयो । र, त्यस्ता गल्ती नदोहो¥याउन चेतावनीसहित टोली फक्र्यो ।
टोली फेरि पुग्यो ज्यामिरेस्थित उत्खनन् खण्डमा । टोली पुग्नासाथ ट्रयाक्टरहरुको भागाभाग भयो । त्यो केन्द्रबाट साँबेलको सहारामा लोड गर्ने ट्रयाक्टरवालाहरु झण्डै दर्जनबढी थियो । उनीहरु भागाभाग भए । उनीहरुले अबैध हिसावले (गाउँपालिकाको रसिद नकाटी– जनशक्ति लगाएर उत्खनन् गरेको पाइयो ।
एक्साभेटरको उत्खनन् अनुमतिपत्र र चालक अनुमतिपत्र खोजिँदै ।
त्यसपछि त्यहाँ चलेको दुईवटा एक्साभेटरतर्फ ध्यान गयो । दुबैको कागजपत्र मागियो । त्यहाँ पनि चालक अनुमतिपत्र फेला परेन । तत्कालै तीमध्ये एक एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएर बैधानिक कागजात ल्याउन भनियो । र, पानीको बहाव छेउमा गएर उत्खनन् गरेकाले दुबै एक्साभेटर चालक र उत्खनन्कर्तालाई चेतावनी दिएर टोली फक्र्यो । ‘यो पहिलोपटक अनुगमन भएकाले मैले सच्चिनका लागि भनिरहेको छु’, अनुगमन टोली प्रमुख दीर्घनारायण कोइरालाले भन्नुभयो–‘अर्को अनुगमनमा पनि यस्तै गल्ती भेटियो भने कारबाही अघि बढ्छ ।’
त्यसपछि राप्ती र मनहरी दोभानमा पनि टोली पुग्यो । त्यतिखेर साँझ परिसकेको थियो । तैपनि उत्खनन् गरिएको क्षेत्रको अवलोकन गरियो । तोकिएकोभन्दा अलिक बढी गहिराई भएकाले सुधार्नका लागि टोलीले गाउँपालिकालाई सुझाव दियो ।
ट्रिपरहरुले उत्खननबापत रसिद काटे–नकाटेको जानकारी लिँदै ।
गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेको कूल २ लाख ६० हजार घनमिटरमध्ये पहिलो चरणमा १ लाख ८२ हजार घनमिटर नदीजन्य बस्तुको घाटगद्दी नगरी सीधै बिक्री गरेको छ । यसबापत गाउँपालिकाले १ करोड २१ लाख रुपियाँ प्राप्त गर्नेछ । उत्खनन्कर्ताले उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकनले अंगिकार गरेका केही प्रावधानहरुमा ध्यान नदिएकाले तत्कालै सुधार गर्नका लागि अनुगमन समितिका संयोजक कोइरालाले निर्देशन दिनुभएको छ । तोकिएभन्दा बढी उत्खनन् गरिएका क्षेत्रको खाल्डाहरु पुरेर मात्रै पुन काम सुचारु गर्न उहाँले निर्देशन दिनुभयो । साथै उत्खनन् गर्ने एक्साभेटर, ढुवानी गर्ने ट्रिपर, ट्रयाक्टरले हरेक दिन अनुमति लिएर चिट काटेर जाने व्यवस्थालाई अझ प्रभावकारी बनाउनका लागि उहाँले निर्देशन दिनुभयो । उहाँले जनशक्ति प्रयोग गरेर साँबेलको प्रयोग गरी उत्खनन् गरिरहेका ट्रयाक्टरलाई पनि बैधानिक बाटोमा ल्याएर राजश्वबृद्धि हुने गरी उत्खनन् गर्न र गराउने व्यवस्था मिलाउन गाउँपालिकालाई निर्देशन दिनुभयो ।
पछिल्लो ७ दिनयता मनहरी गाउँपालिकाले ३ स्थानबाट व्यवस्थित ढंगले उत्खनन् थालेको हो । यो अबधिमा ३२ हजार घनमिटर उत्खनन् गरिएको गाउँपालिकाले जनाएको छ ।