बच्चा दूध कुरेर बसे, किन्न गएका इरफानको लाश फर्कियो

गुगलपाटी संवाददाता
१८ फाल्गुन २०७६ ०७:२५

 हेटौंडाः बच्चाका लागि दूध किन्न गएका एक भारतीय युवालाई साम्प्रदायिक अतिवादीहरुको एक समूहले हत्या गरिदिएको छ। नागरिकता संशोधन कानूनलाई लिएर अहिले भारतमा साम्प्रदायिक दंगा भड्किएको छ। दर्जनौं मानिसहरु दंगाको शिकार भएका छन्। २७ बर्षीय मोहम्मद इरफानलाई सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ताहरुले हत्या गरिदिएका हुन्। बुधबार बेलुकी उनको शव घरभन्दा ३०० मिटर पर भेटिएको थियो। इरफानको शरीरमा निकै गहिरा चोटहरु थिए र ठाउँ(ठाउँमा काटिएको थियो। उनको टाउको समेत फुटाइएको थियो। हत्या गरिएका महजको शवलाई जाफराबाद इलाकाको गल्ली नंम्बर ३७ मा राखिएको छ। उनको अन्तिम संस्कारका लागि स्थानीय मानिसहरु जम्मा भएका छन्। स्कुल ब्याग बनाउन कपडा काट्ने पेशा गर्दै आएका इरफानको गत बुधबार बेलुकी बच्चाहरुका लागि दूध लिन बजार गएका थिए। त्यहीबेला उनीमाथि सत्तासमर्थक हुल्याहाहरुको समूहले आक्रमण गरेको थियो। साँझको करिब साढे सात बजेतिर इरफानमाथि आक्रमण भएको हल्ला सुनेपछि उनका परिवार घरबाहिर निस्किएको, तर त्यतिखेरसम्म उनको मृत्यु भइसकेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। प्रहरीले थप हिंसा भड्कन सक्ने भन्दै इरफानको शव जन्मघर कतारनगरमा लैजान समेत नदिएको खुलेको छ। त्यसैले इराफानको शवलाई जाफराबादमै अन्तिम संस्कार गर्न लागिएको हो। इरफान पत्नी, दुई बच्चा र बृद्ध बाबुआमाका साथ दिल्लीमा बस्दै आएका थिए।
स्रोतः थाहाखबर