१५ वर्षदेखि बाँझो जमिनमा तरकारी लगाएर लोभलाग्दो कमाइ
गुगलपाटी संवाददाताम्याग्दी : मिहिनेत गरे के हुँदैन र ? प्रकृतिले पनि मानिसलाई संघर्ष गर्ने उत्प्रेरणा जगाउँछ। प्रकृतिको यही उत्प्रेरणाबाट प्रभावित भई संघर्षमा होमिएका बेनीका एक व्यक्तिले अहिले वर्षौदेखि बाँझिएर रहेको रुखो पाखोलाई रसिलो फलफूल र तरकारी खेतीको उर्वर भूमि बनाएका छन्। म्याग्दी सदरमुकाम बेनीमा अटो पार्टसको व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित छविसमा १५ वर्षदेखि बाँझो रहेको जमिनलाई उपयोग गरी व्यावसायिक तरकारी र फलफूल खेतीमा लागेका हुन्। गाउँ छाडेर शहरमा व्यापार व्यवसायमा लागेलगत्तै बाँझो बसेको जग्गा झाडी र जंगल बन्न थालेपछि खेतीयोग्य जमिनलाई खेर जान नदिने अठोट लिएर कृषि उद्यममा लागेको केसीले बताए। गत वर्षको फागुनदेखि बाँझो जग्गालाई उपयोगमा ल्याउने अभियानमा लागेका केसीले अहिलेसम्म ५५ रोपनी जग्गामध्ये करिब २५ रोपनी जग्गामा तरकारी र फलफूल खेती विस्तार गरिसकेका छन्। बाँझो जमिनमा झाडी फडानी, खेतीयोग्य जमिन निर्माण र फलफूलका विरुवा खरिदमा मात्रै ११ लाख बढी खर्च भएको केसीको भनाइ छ। एलभिन फलफूल तथा तरकारी फर्म स्थापना गरेका केसीले ६ सय कागती, १ हजार केरा, ४ सय आँप, १५० लिचि, १ सय दाँते ओखर, अम्बा लगायतका फलफुलका विरुवा लगाएका छन्। आलु, बन्दा, काउली, साग, गोलभेडा, मटर, खुर्सानी, काँक्रो, घिरौला, करेला लगायतको तरकारी खेतीसमेत सुरु गरेका केसीले अहिलेसम्म ५ लाख बराबरको तरकारी बिक्री गरिसकेको जानकारी दिए। ‘बजारमा व्यवसायबाट राम्रै आम्दानी थियो, तर यहाँ जग्गा बाँझो रहँदा पटक्कै मन मानेन, व्यवसायमा कर्मचारी राखेर म खेर गएको जमिनमा खेती गर्ने अभियानमा लागेको हुँु उनले भने। ६ वर्ष वैदेशिक रोजगारीमा बिताएका जलजला गाउँपालिका–७ धाईरिङका स्थायी बासिन्दा केसीले बिगत १२ बर्षदेखि म्याग्दी सदरमुकाम बेनीमा अटो पार्टस व्यवसाय सञ्चालन गर्दै आएका छन्। वरिपरि जंगलले घेरिएको फाँटमा तरकारी खेती र पाखाहरुमा गरिएको फलफूल खेती लोभलाग्दो बनेको छ। १० वटा घारबाट मौरीपालन र एभोगाडोको खेतीसमेत सुरु गरेका केसीले केराबाट छिट्टै उत्पादन दिने भएकाले बाँझो जमिनमा गरेको लगानीबाट छिट्टै प्रतिफल आउने अपेक्षा गरेको बताए। फर्ममा प्रांगारिक मलको मात्रै प्रयोग गरी आर्गानिक तरकारी उत्पादन गर्न थालेका केसीले ग्राहकहरुको सहजताका लागि बेनीमा आफ्नै तरकारी पसलसमेत सञ्चालनमा ल्याएका छन्। कतिपय उपभोक्ता फर्ममै पुगेर तरकारी खरिद गर्ने गरेको उनले बताए। उनले निकट भविष्यमै यसै क्षेत्रमा स्थानीय जातको कुखुरा र माछापालनसँगै कालिजको व्यावसायिक पालनलाई समेत अघि बढाउने योजना बनाएको जानकारी दिए।
स्रोतः थाहाखबर