फुटबलमा भविष्य नदेखेपछि विदेश पलायनः एलन न्यौपाने
गुगलपाटी संवाददाताहेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिनु भएको छ । घरेलु मैदान हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाउनु भएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा फुटबल खेलेर आफ्नो भविष्य सुनिश्चित नदेखेपछि बाध्य भएर विदेशिएका उहाँका साथीहरूले सुनाएका छन् । ‘रोजगारीका सिलसिलामा एलन अस्ट्रेलिया गएका हुन् । राष्ट्रिय टोलीको पहिलो रोजाइमा नपर्ने देखेपछि उहाँले आफ्नो भविष्यलाई प्राथमिकतामा राख्दै यसो गरका हुन्,’ उहाँको पारिवारिक स्रोतले जनायो ।
जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले एलन विदेशिएको विषय आफूले सामाजिक सञ्जालमार्फत् थाहा पाएको बताउनु भयो । ‘अस्ट्रेलिया गएको विषय मैले सामाजिक सञ्जालमार्फत् थाहा पाएँ । खेल्न, पढ्न वा रोजगारी केका लागि गएका हुन् अझै थाहा छैन,’ उहाँले भन्नु भयो ।
स्रोतका अनुसार विश्वकप छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीच अस्ट्रेलियामा भएको खेल खेल्न जाँदा नेपाली खेलाडीलाई एकवर्षे मल्टिपल भिसा दिएको थियो ।
एलन त्यही भिसा प्रयोग गर्दै अस्ट्रेलियातर्फ लाग्नु भएको हो । गोलकिपर एलन नेपालले सन् २०१६ मा बंगलादेशमा बंगबन्धु कप जित्दा र भारतमा सम्पन्न १२ औं साग खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा नेपाली टोलीका सदस्य हुनुहुन्थ्यो ।
सन् २०१३ देखि थ्रीस्टार क्लबमा आबद्ध उहाँले भर्खर मात्रै राजधानीमा सम्पन्न ‘ए’ डिभिजन फुटबल लिगमा भने च्यासल युथ क्लबबाट खेल्नु भएको थियो । उहाँ सन् २०१६ देखि राष्ट्रिय टोलीमा समावेश हुने र बाहिरिने क्रम चल्दै आएको थियो ।
उहाँले सन् २०१५ देखि हालसम्म यू–२३ टिममा रहेर पाँचवटा खेलसमेत खेलिसक्नु भएको छ । उहाँ २०१८ को एएफसी यू–२३ छनोट खेलमा टोलीमा रहनु भएको थियो ।
हेटौंडा–२ वनस्खण्डी स्थायी घर भएका एलन एन्फा एकेडेमीका उत्पादन हुनुहुुन्छ । उहाँ यू–१२ बाट एन्फा एकेडेमीमा प्रशिक्षणरत् हुनुहुन्थ्यो ।
विश्वकप तथा एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले एलनसहित ३१ जनालाई पहिलो चरणको छनोटमा समावेश गर्नु भएको थियो । एलन उमेर समूहका गोलकिपरमध्येका उत्कृष्ट हुनुहुन्छ ।
उहाँ निकटका अनुसार एलनलाई उहाँ आबद्ध ‘ए’ डिभिजन क्लब च्यासलले जापानमा प्रशिक्षण र रोजगारीको व्यवस्था गरिदिने अफर गर पनि त्यसलाई बेवास्ता गर्दै अस्ट्रेलियातर्फ लाग्नु भएको हो ।
लिग भएको समयमा च्यासलबाट खेल्ने अन्य समयमा जापानमै प्रशिक्षण गर्दै रोजगारी गर्ने व्यवस्था क्लबले मिलाए पनि त्यसलाई बेवास्ता
गर्दै उनी अस्ट्रेलियातर्फ जानु भएको हो ।
उनलाई त्यहाँ रहेका खेलाडीहरूले दुईवर्षे भिसा र रोजगारीको ग्यारन्टी गरेसँगै उहाँ त्यसतर्फ गएका हुन्,’ परिवार स्रोतले जनाएको छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई भने उहाँले रोजगारीका लागि विदेशिनेसम्बन्धमा कुनै जानकारी गराउनु भएको छैन् । राष्ट्रिय टोलीको आइतबार सुरु हुने बन्द प्रशिक्षणका लागि बोलाइँदा हाललाई आफू उपलब्ध हुन नसक्ने जनाएको अस्ट्रेलिया जाँदा नेपाली फुटबल टोलीका व्यवस्थापक रहनु भएका एन्फाका सदस्य मधुसुदन उपाध्यायले बताउनु भयो ।
यसअघि त्यही भिसामा मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलिया गएका थिए । मनाङ मस्र्याङदीका उहाँ अघिल्लो वर्षको ए डिभिजन लिगमा उत्कृष्ट मिडफिल्डर हुनु भएको थियो ।