चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना
गुगलपाटी संवाददाता काठमाडौं : कोरोना भाइरसको आशंकामा आज टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा तीनजनालाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये दुईजना नेपाली र एक जना चिनियाँ नागरिक भएको टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए। डा बास्तोलाका अनुसार भर्ना भएका नेपालीमध्ये एकजना चिनियाँ नागरिक र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको बताइएको छ। दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएका यी पहिलो बिरामी हुन्। उनले भने, ‘ज्वरो र सामान्य रुघाखोकी लागेपछि उहाँहरू आफैँ आउनुभएको हो, हामीले शंकास्पद लागेर आइसोलेसन गरेका छौँ।ु अस्पतालमा राखिएका तीनै जना पुरुष हुन्। चीनमा ३० डिसेम्बरमा पहिलो पटक कोरोना देखिएको थियो। नेपालमा भने कोरोनाको आशंकामा चीनबाट फर्केका एक युवा १३ जनवरीका दिन टेकु अस्पताल पुगेका थिए। त्यसबेला नेपालमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था थिएन । उक्त युवाको नमूना परीक्षण गर्न हंङकङ पठाइएको थियो । २३ जनवरीमा हङकङबाट रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो तर उक्त युवा भने अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। त्यसयता चीनबाट ल्याइएका १७५ जना सहित करिब २५० बढीको कोरोना टेष्ट गरिसकिएको छ। तर अहिलेसम्म ती सबैको नेगेटिभ रिपोर्ट आएको छ।
स्रोतः थाहाखबर