भीमफेदी-कुलेखानी सडक फराकिलो बन्दै,सवारी आवागमन नरोकिने

गुगलपाटी संवाददाता
२४ फाल्गुन २०७६ ०७:१६

हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामले तीव्रता पाएको छ ।यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने कामलाई तिब्रता दिएको छ ।
बागमती प्रदेशको राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक खण्डको स्तरोन्नती गर्ने काम समयमै सकाउने लक्ष्य बागमती प्रदेश सरकारले लिएको भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयालले वताए ।

हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामको अनसगमन गर्दे बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयाल
भीमफेदी देखि देउरालीडाँडा र देउरालीदेखि कुलेखानीसम्म दुई चरणमा गरेर सडक स्तरोन्नतीको काम भइरहेको छ । भीमफेदीदेखि देउरालीसम्मको ८ किलोमिटर मोतिदान–रायमाझी जेभी र देउरालीदेखि कुलेखानीसम्मको मोतिदान–एसबीए जेभीले ठेक्का पारेको थियो ।१७ माघ २०७६ मा निर्देशनालय र ठेकेदार कम्पनीबीच एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

सडकमा धेरै साघुरा घुम्तीहरु भएकोले सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । करिब ३ देखि ४ मिटर फराकिलो सडकमा दैनिक हजारौं संख्यामा सवारी आवतजावत गर्छन् ।निर्देशनालयका सूचना अधिकारी इन्जिनियर कुमार पुडासैनीका अनुसार साँघुरो भएका स्थानमा मात्रै रटेनिङ वाल र तारजाली भत्काइने छ । सडकको भित्तासम्मै कालोपत्रे गरिने र गाडीको एकतर्फी टायर गुड्न मिल्ने गरी पानी बग्ने सानो नाला निर्माण गरिनेछ ।

करिब ३४ करोड लागतमा भीमफेदीको वडा नं। ६ बाट सुरु गरेर इन्द्रसरोबर वडा नं। २ कुलेखानीसम्मको १५ दशमलव ९ सय २६ किलोमिटर सडक स्तरोन्नती गर्न लागिएको सूचना अधिकारी जानकारी दिए ।यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले उक्त निर्माणाधिन भीमफेदी–कुलेखानी सडक खण्डमा सवारीलाई नियमित चल्न दिइने जनाएको छ ।

सडक स्तरोन्नती गर्न सवारी आवागमनमा रोक लगाउनु नपर्ने गरि कामगर्ने तयारी गरेको ठेकेदार प्रतिनिधि राम कार्कीले जानकारी दिए । सडक स्तरोन्नती गर्ने कामले यात्रुहरुलाई समस्या नहुने गरि काम गर्ने गरेको वताए ।