बाम एकता चहानेहरुलाई दिए प्रधानमन्त्री ओलीले खुशीको खबर

गुगलपाटी संवाददाता काठमाडौँ, १ जेठ
१ जेष्ठ २०७५ १६:४६

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला नेकपा माओवादी केन्द्रसँग एकता हुनसक्ने बताएका छन् । अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार छिट्टै नै माओवादी केन्द्रसँग एकता हुने उनले स्पष्ट पारे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता भाँडिएको खबर आईरहेका बेला युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफूहरूको एकता भाँड्न खोज्नेहरूलाई जुनसुकै बेला पार्टी एकता गरेर जवाफ दिन्छौं ।’
दुई पार्टीका नेताहरूलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सकिने बताए । ‘पत्रकारहरू भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ’,उनले भने ।
एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाज अनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे ।
साथै अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उनले गरे ।
साथै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।