नवलपरासीमा छुट्टाछुट्टैै दुर्घटना : दुईको मृत्यु, ४ घाइते
गुगलपाटी संवाददातानवलपरासीः पूर्वी नवलपरासीमा भएका छुट्टाछुट्टैै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार साँझ गैडाकोटबाट पहाडी मार्ग बुलिङ्गटार जाँदै गरेको ओ यो ००२७ नम्बरको बोलेरो अचानक सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते दाङ निवासी ५३ वर्षीय विमलचन्द्र सुवेदीको उपचारको क्रममा गएराति नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । जिप चालक चितवनको राप्ती नगरपालिका ४ निवासी २२ वर्षीय निर्जल हुमागाई, जिपमा सवार रौतहटको बाग्मती नगरपालिका २ निवासी ३९ वर्षीय दलबहादुर सलामी मगर, नुवाकोट ककनी नगरपालिका ४ निवासी २६ वर्षीय रितिक लामा र २६ वर्षीय गौतम घले घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यसैगरी गएराति गैडाकोट नगरपालिका ५ मा ना ३ च २२६१ नम्बरको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको निधन भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गोर्खा पालुङटार गाउँपालिका १० निवासी ३५ वर्षीय ज्ञानबहादुर कुँवरको बुधबार बिहान नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्रोतः नयाँपत्रिका