परीक्षामा सामेल विद्यार्थीहरुलाई मास्क, सेनेटरी प्याड वितरण

गुगलपाटी संवाददाता
३० फाल्गुन २०७६ ०६:०६

हेटौंडा उपमहानगरपालिका कार्यालयले चैत पहिलो हप्तादेखि सुरु हुने एसइइ परीक्षालाई लक्षित गर्दै हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।

चैत ६ गतेबाट हेटौंडाको एसइइ परिक्षा केन्द्रमा हेटौंडा उपमहानगरले स्वास्थ्य सामग्री सहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्य उपचारको लागि सहयोग गरिने तयारी गरेको हो ।

सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याड सहितको व्यावस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको थियो ।

परीक्षामा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने भएकोले हेटौंडा उपमहानगरले परीक्षामा सामेल विद्यार्थीहरुको लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीहरुको टोलीले प्राथमिक स्वाथ्य सामाग्री सहितको आवश्यकता अनुसार स्वास्थ्य उपचार गरिने जनाइएको छ ।

एसइइ परीक्षाको लागि हेटौंडाका १४ वटा परीक्षा केन्द्र तोकिएको छ । १४ वटा परीक्षा केन्द्रबाट करिब ४ हजार विद्यार्थीले एसइइ परिक्षा दिँदैहुनुहुन्छ ।