फरक क्षमता भएकी तुलसा भन्छिन्ः ‘समाजले हेर्ने दृष्टिकोण अझैं परिवर्तन भएको छैन’

गुगलपाटी संवाददाता
३० फाल्गुन २०७६ ११:५०

काठमाडौं – मानिसका अनेक दुःख छन्। दुःख हरेक मानिसको जीवनमा कुनै न कुनै बेला परेकै हुन्छ। मात्र दुःखको प्रकार फरक होला। तर दुःख जति भए पनि संघर्षशिल मान्छे संसारमा धेरै छन्।

काभ्रे पाँचखाल ३ की तुलसा कार्कीका दुबै हात असामान्य छन्। उनको दुबै हात छन् तर फरक खालका। दुबै हात आधामात्रै। कुइनासम्म मात्रै भएका हातमा तीनरतीन औला मात्रै छन् त्यही पनि फरक खालका। उमेरले दुई बीस पार गरेकी तुलसा अहिले पाँचखालकैै सर्वमंगला बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्।

सामान्य परिवारमा जन्मेकी तुलसाका सुरुआती दिन निकै कष्टकर थिए। परिवारमा चरम आर्थिक संकट भएकै कारण सुरुमा उनले मागेरै गुजारा पनि गरिन्। ठूलै हुनेबेलासम्म पनि यस्तो काम गरेको उनी सम्झिन्छिन्। माग्दै हिड्ने क्रममा बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी र निर्मला धितालसंगको भेटले उनको जीवन नै ‘यू–टर्न’ भयो। उनीहरुकै सरसल्लाहमा तुलसा विद्यालय भर्ना भइन्। माग्दै हिड्ने तुलसाले पढ्लिन् भन्ने सुरुमा त धेरैले पत्याएनन्। तर उनले धेरैको अनुमान विपरित राम्ररी अध्ययन गरिन्। हाल उनी स्नातक तहमा अध्ययनरत छिन्। विद्यालयले प्रदान गरेको छात्रवृत्तिले उनलाई अध्ययनमा सघायो।

जहा गहिरो त्यही पहिरो भनेझैं उनका बुवाले पनि छोडेर गए। २०६१ मा बुवा कर्णबहादुर क्यान्सरको सिकार भए। त्यसपछि उनि आमासंगै बसिरहेकी छिन्। आमा पनि दम रोगका कारण समस्यामा छिन्। घरमा पालिएका केही बाख्रा बाहेक उनको जग्गा जमिन पनि छैन। यही बाख्राले धानेको छ उनको जीन्दगी। ‘काम गर्न समस्या त हुन्छ नै।’ उनले भनिन्,‘ तर पनि सक्दो गरेकै छुँ। चित्र बनाउँछु। भाडा पनि माझ्छु। लुगा लगाउन र परीक्षामा लेख्न भने साह्रै समस्या हुन्छ।’ तर उनले हार भने मानेकी छैनन्। राज्यले फरक क्षमता भएकालाई दिने रातो कार्ड९क वर्ग०बाहक तुलसाकोे राज्यले खासै सहयोग नगरेको गुनासो छ। निर्वाचनमा विभिन्न आश्वासन देखाएर भोट माग्ने राजनीतिक दलका नेतादेखि पनि उनका थुप्रै गुनासा छन्।

आगनमै रहेका स्थानीय सरकारले खासै सहयोग नगरेको उनको आरोप छ। ‘चुनावमा त धेरैले आश्वासन दिए। यो गर्छु, त्यो गर्छू पनि भने। तर जितेर गएपछि कसैले फर्केर हेरेनन्।’ उनले गुनासो गरिन्। ‘राज्यले हामी जस्ता फरक क्षमता भएकालाई पनि रोजगारी सृजना गरिदिए हुन्थ्यो। सँधै अरुको सहारमा बाच्न पर्ने बाध्यताबाट पनि मुक्ति मिल्थ्यो।’ उनले भनिन्। अहिलेसम्म स्थानीय सरकारबाट पनि कुनै सहयोग नपाएको उनको गुनासो छ। कहिलेकाही त उनलाई देशको नागरिक भएकोमा र भोट हालेकोमा पनि दुःख लाग्छ। ‘हाम्रा लागि कसैले केही गरिदिने होइनन्। हामीले मात्रै यिनलाई सँधै जिताएर पठाउनुपर्ने।’ उनले दुखेसो पोखिन्।

कृतिम हात राख्न उनले प्रयत्न नगरेकी पनि होइनन्। तर आर्थिक समस्याले कृतिम हात राख्न नपाएको उनले सुनाइन्। ‘यसको लागि मैले नेपालका धेरै अस्पताल चाहरे। तर यो नेपालमा सम्भव हुँदो रहेनछ। विदेश गएर राख्न पैसा छैन।’ कृतिम हात राख्ने उनको आसा अझैं पनि मरेको छैन। भन्छिन्, ‘ कसैले आर्थिक सहगोग गरिदिए कृतिम हात राख्न सकिन्थ्यो।’ राजधानीलगायत काभ्रेमा हुने विभिन्न कार्यक्रममा पनि उनी पुग्छिन्। तर हरेक क्षेत्रमा पुग्न उनलाई कसै न कसैको सहारा चाहिन्छ। ‘घरबाट निस्केपछि सबैभन्दा बढी शौच गर्न समस्या हुन्छ। शौच गर्न घरै फर्किनपर्ने बाध्यता छ।’ उनले दुखेसो पोखिन्। अझैं पनि समाजले फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको उनको तितो अनुभव छ। ‘समाजले हेर्ने दृष्टिकोण पुरानै छ। राज्यले हाम्रा लागि खासै केही गर्न सकेको छैन।’ उनले भनिन्। ‘भनाई र भोगाइमा आकास पातालको फरक हुँदो रहेछ।’
स्रोतः नागरिक