सिआइटी र नेमको छात्रबृत्ति अभियान सुरु
गुगलपाटी संवाददाता
हेटौंडा/हेटौंडामा रहेको कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटी) र नेशनल एलाइन्स अफ मास्टर एजुकेशन (नेम) इन्स्टिच्युटले मकवानपुरका हरेक सामुदायिक विद्यालयमा ३० हजार रुपैंयाको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
एक बिद्यालय एक छात्रवृत्ति अभियान अन्तर्गत जिल्लाका हरेक विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको छात्रबृत्ति अभियान सुरु गरिएको नेमका संचालक किशोर अर्यालले बताए । कार्यक्रम अन्तर्गत हेटौंडा १७ मा रहेको बालबोध माध्यमिक विद्यालय र हेटौंडा ७ मा रहेको नवज्योति माध्यमिक विद्यालयबाट छात्रवृत्ति कार्यक्रम सुरु गरिएको सिआईटीका संचालक दिनेश रिजालले जानकारी दिए । बालाबोध माविकी कक्षा १० मा अध्यनरत छात्रा रुपा श्रेष्ठ र नवज्योति माविकी त्रिविका डिमडुंगलाई छात्रवृत्ति प्रदान गरिएको रिजालले बताए ।
छात्रवृत्ति वितरण कार्यक्रममा बालबोधका प्रधानाध्यापक रमेश रिजाल, विद्यालय व्यवस्थान समितिका अध्यक्ष कमल बहादुर बिष्ट, नवज्योतिका प्रअ जिधराज ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेम र सिआईटीले गरिब तथा जेहेन्दार एक विद्यार्थीका लागि नगद ४ हजार र २६ हजार बराबरको एसईइ पश्चात अध्यन गर्ने कम्युटर, लोकसेवा, ब्रिजकोर्ष, विभिन्न प्राविधिक शिक्षा तथा पुर्व तयारी कक्षा लगायतका विभिन्न कोर्ष निशुल्क अध्यन गर्न पाईने व्यवस्था गरेको २ सस्थाले जनाएको छ ।
यस वर्ष एक विद्यालय एक छात्रवृत्ति वितरण गरिएपनि अर्काे वर्षदेखि एक विद्यालयका १ छात्र र एक छात्रालाई छात्रवृत्ति उपलब्ध गराईने बताईएको छ । आफ्नो सामाजिक उत्तरदायीत्व अनुरुप र विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि सामुदायिक विद्यालयमा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको नेम र सिआईटीले जनाएको छ ।