हेटौंडा उपमहानगरपालिकाले भ्युटावर निर्माण गर्दै

गुगलपाटी संवाददाता
२ चैत्र २०७६ ०६:३४

हेटौंडा उपमहानगरपालिकाले भ्युटावर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षमा पयर्टनको भौतिक पूर्वाधार स्वरुप भ्युटावर बनाउने योजना अनुसार काम सुरु गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले पर्यटनक लागि चालु आर्थिक वर्षमा ४३ करोड ७५ हजार पर्यटनका लागि बजेट बिनियोजन गरेको छ । जसमध्ये उपमहानगरभित्र भ्युटावर निर्माण गर्न २ करोड बजेट बिनियोजन गरिएको छ ।

उक्त रकमले भ्युटावर निर्माण नहुने भएकाले आगामी आवमा आवश्यक बजेट बिनियोजन गरेर काम सम्पन्न गरिने हेटौंडा उपमहानगरपालिकाका योजना शाखा प्रमुख सुबोध थापाले जानकारी दिनु भयो । भ्युटावर निर्माण गर्न हेटौंडा–१४ मा जनही ५ लाखका २ वटा योजना तय गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका भैरवडाँडा भ्युटावर पर्यटकीय क्षेत्र पूर्वाधार सुधारका लागि ५ लाख बजेट बिनियोजन भएको छ । चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि पर्यटन सम्बन्धी काम अगाडि बढ्न नसकेको हेटौंडा उपमहानगरपालिका योजना शाखा प्रमुख थापाले जानकारी दिनु भयो ।

उहाँका अनुसार डीपीआर तयार गर्न समय लाग्ने हुँदा प्रतिवेदन आएपछिमात्रै काम सुरु गरिनेछ । हेटौंडा–१४ को ड्राइभरडाँडामा भ्युटावर र होमस्टे सञ्चालनको लागि तीव्र तयारी भइरहेको हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काले बताउनु भयो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करिब ५ हजार पर्यटक भित्र्याउने उद्देश्यले पर्यटनका भौतिक पूर्वाधार निर्माण हुन लागेको अध्यक्ष खड्काको भनाई छ । आफ्नो वडामा होमस्टेको लागि नगरबाट पनि बजेट बिनियोजन भएको बताउँदै वडा अध्यक्ष खड्काले उपभोक्ता समिति निर्माणपछि अब काम अगाडि बढ्ने बताउनु भएको छ ।

‘उपभोक्ता समिति गठन गरिसकेका छौं ।’ उहाँले भन्नुभयो, ‘लम्जुङको घलेगाउँ र बन्दीपुरको होमस्टे अध्ययन अवलोकन पश्चात सम्भावना भएकोले प्रक्रिया अगाडि बढाइएको हो ।’ अध्यक्ष खड्काका अनुसार पहिलो चरणमा भ्युटावरको काम भइरहेको छ । गेट, पर्खाल लगायतका कामहरु सकिएपछि अन्य कामहरु हुने उहाँले बताउनु भयो ।

ड्राइभरडाँडामा रहेको सार्वजनिक जग्गामा भ्युटावर निर्माण गरिने भएको समाचार आजको हेटौंडा सन्देशले दैनिकमा छापिएको छ । यसलाई विस्तार गरेर स्मारक बनाउने र पर्यटकीय क्षेत्र बनाउने उद्देश्य रहेको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।