कानून कार्यान्वयन भएको छैन, खबरदारी गर्नुस् – श्रेष्ठ

गुगलपाटी संवाददाता
२ चैत्र २०७६ ०७:३३

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न संचारकर्मीहरुलाई आग्रह गरे । कानून कार्यान्वयन हुन नसक्नुका कारण खोजेर समस्या बनाउन उनको आग्रह थियो । उनले सुशासनका लागि पारदर्शिता आवश्यक रहेको भन्दै पत्रकारितामा समेत पारदर्शिता आवश्यक रहेको बताए । उनले कानून नागरिक मैत्री नभए संशोधन हुनुपर्नेमा समेत उनको जोड थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्यहरु द्वारिका काफ्ले, कृष्ण गिरी, सिर्जना अर्याल, प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतको सहभागिता रहेको थियो ।