दुई डोजरमा आगजनी
गुगलपाटी संवाददाताबेनी : म्याग्दीको बेनी-दरवाङ सडक आयोजनामा परिचालित ठेकेदारका दुईवटा डोजरमा आइतबार राती अज्ञात समूहले आगजनी गरेको छ। मालिका गाउँपालिका ६ रातोढुङ्गामा पार्किङ गरेर राखिएका क्याराभान कन्ट्रक्सनको एकवटा एक्साभेटर र एकवटा ब्याकुहोलोडरमा आगजनी गरेका हुन्।
कम्पनीले बेनी(दरवाङ सडक आयोजनाअन्तरगत लाम्पाटा-दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि ती उपकरण प्रयोगमा ल्याइएको थियो। आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले बताए। एक्साभेटरमा लगाएको आगो आधा भाग जलेको छ।
राती १२ बजेपछि आगलागी भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।
सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको क्याराभान कन्ट्रक्सनका सञ्चालक सोमनाथ थकालीले बताए । उनका अनुसार आगजनीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत लाम्पाटा देखि दरवाङ जोड्ने ६ किलोमिटर सडक कालोपत्रे गर्न क्याराभान कन्ट्रक्सनले गत जेठमा ठेक्का लिएको थियो ।
स्रोतः अन्नपुर्णपोस्ट