कुलेखानी सडक विस्तार तथा निर्माण
गुगलपाटी संवाददाताहेटौंडाः बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी– कुलेखानी सडक विस्तार तथा निर्माणको काम छिटो सक्न निर्देशन दिनुभएको छ ।
उहाँले काम छिटो सकेर जनतमाझ सकारात्मक सन्देश प्रवाह गर्नुको साथै यात्रुलाई सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
आज भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले भीमफेदी– कुलेखानी हेबी सडकखण्डमा पटके सवारी सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा उक्त सडकखण्डमा केही दिनसम्म पटके सवारी सञ्चालन गरीने र बैकल्पिक बाटो निर्माण भएपछि पूर्ण रुपमा सडक अवरुद्ध गरेर सडक विस्तार तथा निर्माणको काम गरिने निर्णय भएको मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिनुभयो ।
उहाँको अनुसार भीमफेदी कुलेखानी सडकको विभिन्न स्थानमा निर्माणको काम हुने भएकोले विहान ५ बजेदेखि ८ बजेसम्म, दिउँसो ११ बजेदेखि १२स्३० बजे सम्म र दिउँसो ३ बजेदेखि ८स्३० बजेसम्म बाटो सुचारु हुने छ ।
उक्त समयभन्दा बाहेकको समयमा विस्तार तथा निर्माणको काम हुने भएकोले सडक अवरुद्ध गराइने छ ।
बैठकमा यातायात पूर्वाधार निर्देशनालयका प्रतिनिधी, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौर, जिल्ला ट्राफिक प्रमुख विष्णुहरी ढकाल, विभिन्न यातायात क्षेत्रको सरोकारवाला निकायका प्रतिनिधी, ठेकेदार कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।