घरेलु मदिरा कि ज्यानमारा व्यापार

गुगलपाटी संवाददाता
५ चैत्र २०७६ ०४:१८

जनकपुरधाम : प्रदेश २ का सीमाछेउका गाउँ साँझ नपर्दै झकिझकाउ हुन्छन्। माटाका ससाना झुपडीहरूमा ग्राहकको भार थेग्नै गाह्रो हुने भीड हुन्छ। बढीजसो ४५ वर्ष नकेटका युवा जमातको जमघट भेटिने यी झुपडी घरेलु मदिरा भट्टी हुन्। जहाँ निकै सस्तोमा झमक्क मात्तिने रक्सी पाइन्छ।

बसोबास क्षेत्र, सार्वजनिक स्थल, शैक्षिक संस्थान र धार्मिक स्थलको समेत ख्याल नगरी मनमौजी भट्टीहरू प्रहरी प्रशासन वा जनप्रतिनिधिले नदेखेका होइनन्। तर, स्वार्थका कारण कसैले पनि यसलाई नियन्त्रित नगरेको महोत्तरीको सीमामा अवस्थित गाउँ मधवाका बासिन्दा रामबोध झा बताउँछन्। ‘यी भट्टीले गाउँलाई बर्बाद बनाएको छ’, उनी भन्छन्, ‘छिमेकी भारतको विहार राज्यमा रक्सी बन्द भएपछि हाम्रै गाउँमा यसको आतंक भएको छ।’ सीमापारीबाट बिहानै दिउँसो रक्सी खान साइकल, मोटरसाइकल र चारपांग्रेमा ग्राहक नेपाल छिर्न थालेपछि घरेलु मदिरा व्यवसाय झनै फस्टाएको हो।

युरिया, स्प्रिट, गोबर, जुत्ता, मोजा र एसिडजस्ता अखाद्य वस्तुको प्रयोग गरी बनाइएको घरेलु रक्सी र बोतलमा प्याक भएर आउने गुणस्तरहीन रक्सी गाउँघरका गरिब, दलित र विपन्न समुदायका युवाका लागि मनोरञ्जनको साधन बनेको छ। तर, यस मन्द विषले प्रत्येक वर्ष कैयौं परिवारलाई उजाड पार्दै लगेको छ। होलीपर्वको अवसरमा रमाइलो गर्न घरेलु मदिरा भट्टीबाट उत्पादित रक्सी खाएकै कारण धनुषामा हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन्। क्षिरेश्वरनाथ नगरपालिका १ र ३ को रमदैयामा विषाक्त मदिराले १४ जनाको ज्यान लियो। त्यसपछि जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका ६ जनाको ज्यान विषात्त मदिराले गयो।

‘के हामीलाई थाहा थिएन रु घरछेउ सञ्चालित भट्टीका बारेमा रु ’, प्रदेश सभा सदस्य मन्जु यादवले प्रदेशसभा सदस्यहरूलाई प्रश्न गरिन्, ‘जब कुनै दुर्घटना हुन्छ अनि मात्र हाम्रो चेत खुल्छ।’ प्रदेशसभाको सोमबार बसेको बैठकमा नेकपाका सांसद शत्रुधन महतोले दर्ता गराएको विशेष महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै यादवले भनिन्, ‘यस क्षतिको हामी सबै दोषी छौं।’ प्रहरीले मदिरा भट्टीबाट अवैद्य रकम असुली गर्ने कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने, ‘प्रदेश सरकारले यस्ता भट्टीलाई ध्वस्त बनाउनु पर्छ।’

‘सीमाक्षेत्रका गाउँहरु मदिरालय बनेको छ,’ सांसद रानीशर्मा तिवारीले भनिन्, ‘रमाईलोका लागि खाने रक्सीले घरेलु हिंसा, जघन्य अपराध र सामाजिक सद्भाव बिगार्ने काम गरिरहेको छ।’ यी सबै समस्याहरुलाई समाधान गर्न प्रदेश सरकारले यस प्रदेशलाई मदिरा मुक्त प्रदेश घोषणा गर्नुपर्ने तिवारीको सुझाव थियो। सांसद गीता यादवले प्रदेशसभा सदस्यलाई आफैंबाट मदिरा सेवन नगर्ने संकल्प लिन आग्रह गरिन्।

सदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ३ दिनभित्रै अवैद्य मदिरा भट्टी बन्द गर्ने प्रतिवद्धता जनाए। प्रदेश २ सरकारले विषात्त मदिरा सेवन गरी मृत्यु भएका परिवारको राहतका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
स्रोतः अन्नपूर्णपोस्ट