नेपालमा कसैलाई कोरोना संक्रमण भएको छैन, भ्रमको पछि नलाग्नू
गुगलपाटी संवाददाता काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा।रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताएकी छन्। रोगको सम्भावित लक्षण देखिएका बिरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी हुन्। उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्नसमेत आग्रह गरिन्। ‘हाल देशमा कसैलाई पनि कोभिड(१९ को संक्रमण छैन’, डा। झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ।’ उनले परीक्षणमा आउने संख्या दिनहुँ बढे पनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताइन्। यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ। झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अवलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाइन्। ‘जनतालाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछुु, उनले भनिन्। उनले कोरोना भाइरसबारेमा सबैजना सचेत रहेको देखिएको बताउँदै स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन्। डा। झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन्। उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन्। उनले भनिन्,‘एउटा संक्रमित बिरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्रिभ अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं।’ यस्तै इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा। बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताए। उनले देशभरका अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण समेत भइरहेको स्पष्ट पारे। उनले भने,‘हामी सूची लिएर कसैलाई कोरोना भाइरसको संक्रमण भएको छ कि भनेर खोजीसमेत गरिरहेका छौं। संक्रमणको लक्षण देखिएका जो कसैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं।’ डा। पाण्डेले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताए। काठमाडौँमा सयभन्दा माथि आइसोलेशन कक्ष निर्माण भइसकेको जानकारी दिँदै उनले भने,‘सबै अस्पतालमा निमोनियाका बिरामीहरु सूची संकलन भइरहेको छ। आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन १११५ मा तत्काल कल गर्न आग्रह समेत गर्दछु।’ उनले डाक्टरको सिफारिस भएमा मात्र कोरोनाको परीक्षण गर्न सकिने बताए। उनले मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको जानकारी दिए। यस्तै सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने(नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन्। उनले भने,‘रोग आउन पनि सक्छ, नआउन पनि सक्छ। यसबारे जनमानसमा झन् बढी त्रास बढेको पाइएको छ।’ उनले नेपालमा जाँच नै हुँदैन कि रोग नै छैन भन्ने प्रश्न धेरैमा भएको भन्दै स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने स्पष्ट पारेका छन्। उनले भने,‘आतंकित नहोऔं, सचेतना अपनाऔं।’ डा. पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्न पनि सुझाव दिए। पुनले यो महामारीबारे अशिक्षितलाई भन्दापनि शिक्षितलाई सम्झाउन गाह्रो भएको उनले बताए।
स्रोतः थाहाखबर