निजी विद्यालयले धमाधम प्रवेश परीक्षा लिँदै

गुगलपाटी संवाददाता
७ चैत्र २०७६ ०५:५९

काठमाडौँ — सरकारले कोभिड–१९ को संक्रमणका कारण चैत मसान्तसम्म सबै शिक्षालयको पठनपाठन बन्द गर्न भने पनि काठमाडौं उपत्यकाका केही निजी विद्यालयले विद्यार्थी भर्नाका निम्ति धमाधम प्रवेश परीक्षा लिएका छन् । पूर्वनिर्धारित तालिकाअनुसार थोरै संख्यामा विद्यार्थी राखेर प्रवेश परीक्षा लिएको जनाएका छन् ।

ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले कक्षा १ को प्रवेश परीक्षा लिएको संस्थापक निर्देशक राजेश खड्काले बताए। उक्त विद्यालयले आफ्नो वेबसाइटमा भने ‘सरकारको निर्णयअनुसार कोभिड–१९ को कारण पूर्वनिर्धारित तालिकाअनुसार शैक्षिक सत्र २०७७ का निम्ति प्रवेश परीक्षा लिन नसकिएको र व्यक्तिगत रूपमा बोलाइने’ उल्लेख छ। ‘जेम्स स्कुल १ सय २३ रोपनी क्षेत्रफलको कम्पाउण्डभित्र छ र यसका तीनवटा ढोका छन्,’ पाँचसय जना छिर्दासमेत भीडभाड नहुने दाबी गर्दै संस्थापक निर्देशक खड्काले भने, ‘सारा व्यवहारै रोकेर हुन्न। सरकारले २५ जनाभन्दा बढीको भीडभाड हुनेगरी भेला नगर्नु भनेकाले हामीले एक पटकमा दस–दश जनाको समूह बोलाएर फरक फरक बिल्डिङमा प्रवेश परीक्षा लिदैछौं।’ खड्का निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याब्सन०का पूर्वअध्यक्षसमेत हुन्।

त्यसैगरी काठमाडौं पेप्सिकोलास्थित पाणिनी स्कुलले प्रवेश परीक्षा लिइरहेको छ। ‘प्रवेश परीक्षाभन्दा पनि अभिभावक र विद्यार्थीलाई बोलाएर योग्यता परीक्षण लिँदैछौं,’ स्कुलका प्रिन्सिपल कर्णबहादुर शाहीले भने, ‘अभिभावकले छोराछोरी पढाउन सिट बुकिङ गरेर गाउँ फर्किन चाहना राख्नु भएकाले यसो गर्नु परेको हो। धेरै हुलमुल नहुने थोरै–थोरै संख्यामा बोलाएका हौं। शाही नेसनल प्याब्सनका पूर्वअध्यक्षसमेत हुन्।

सेन्ट जेभियर्स स्कुलले सरकारले कोभिड–१९ संक्रमणको उर्दी जारी गर्नुभन्दा अगाडि नै कक्षा १ को प्रवेश परीक्षा लिइसकेको छ। सो विद्यालयले सार्वजनिक सूचनाका आधारमा प्रवेश परीक्षा सञ्चालन गर्ने गर्दछ। त्यसैगरी सेन्ट मेरिज स्कुलले चैत ७ गते लिने भनेको प्रवेश परीक्षा स्थगित गरेको छ। ‘सरकारको निर्णयअनुसार यस सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलद्वारा २०७६ चैत ७ गते सञ्चालन हुन गइरहेको कक्षा १ को प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गरिन्छ’ विद्यालयले आफ्नो वेबसाइटमा भनेको छ। त्यस्तै कतिपय निजी कलेज र विद्यालयले पठनपाठन, भर्नासमेत सञ्चालन गरेको गुनासो प्राप्त भएको जनाइएको छ।

प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना सरकारको निर्देशन पालना गर्नुपर्ने बताउँछन्। ‘विगतमा लोकतन्त्रका लागि राजनीतिक दलहरुले हामीलाई सडकमा आऊ भनेको बेला मान्यौं,’ नागरिक जागरुक हुने बेला भएको उल्लेख गर्दै ढुंगानाले भने, ‘आज अन्तर्राष्ट्रिय संकटको बेला पहिलो चोटि घरभित्र बस, सडकमा नआऊ भनिएको छ। यो अनुशासनको पालना गर्ने हामी सबैको कर्तव्य हो। त्यसैले कुनै पनि विद्यालयले जोखिम नमोल्नु नै वेस हुनेछ।’

त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारले राष्ट्रिय संकट घोषणा गरेकोले शैक्षिक संस्थाका संचालक, अभिभावक, विद्यार्थी स्वतःस्फुर्त सतर्क रहनु पर्ने बताए। ‘यो संगीन घडीमा अभिभावक र विद्यार्थीमात्र नभई स्वयं विद्यालय सञ्चालकहरुले सजगता अपाउनु पर्छ,’ उनले भने, ‘सरकारको निर्णयलाई सामान्य ढंगले लिन मिल्दैन।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कोभिड–१९ को सन्त्रासले पठनपाठन बन्द गर्ने सरकारको निर्णय सबैले पालना गर्नुपर्ने बताए। ‘आगामी शैक्षिक सत्र ढिलो हुने निश्चित छ,’ कुनै पनि ठाउँमा भिडभाड गर्न नमिल्ने उल्लेख गर्दै सचिव दाहालले शुक्रबार कान्तिपुरसित भने, ‘यो अवस्थामा कुनै पनि विद्यालयले विद्यार्थी भर्ना गर्ने हतार गर्नु पर्ने जरुरी छैन।’

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयमा ‘अत्यावश्यक काममा बाहेक आवतजावत, हिंडडुल नगर्ने’ भनेको छ। त्यसैगरी ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र पार्टी प्यालेसजस्ता सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने’ उल्लेख छ।

निर्णयको १३औं बुँदामा ‘सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन २०७६ चैत मसान्तसम्म बन्द गर्ने’ भनेको छ।
स्रोतः कान्तिपुर