कोरोना संक्रमणबाट चीनभन्दा इटलीमा धेरै मानिसको मृत्यु
गुगलपाटी संवाददाताकोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ६ सय २७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ। इटलीमा हिजो झण्डै ६ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ४७ हजार पुगेको छ। हिजो अन्य देशको मृत्युदर पनि उच्च रहेको छ। स्पेनमा २ सय ६२ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ। त्यस्तै इरानमा हिजो १ सय ४९ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ४ सय ३३ पुगेको छ भने संक्रमितको संख्या १८ हजार ६ सय ४४ पुगेको छ। अमेरिकामा हिजो ४९ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ५ हजार ६ सय ५ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या १९ हजार नाघेको छ। त्यस्तै हिजो फ्रान्समा ७८, स्वीट्जरल्याण्डमा १३, बेलायतमा ३३, नेदरल्याण्डस्मा ३०, बेल्जियममा १६ तथा दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ। भारतमा पनि संक्रमितको संख्या लगातार बढेको छ। हिजो एकै दिन ५५ जना संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ। भारतमा हालसम्म ५ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ८४ पुगेको छ। संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय ३३ पुगेको छ।
स्रोतः थाहाखबर