कोरोना भाइरस अध्ययन गर्नसक्ने मेसिन प्रयोगबिहिन

कृष्ण सारु मगर
९ चैत्र २०७६ ०६:३६

हेटौंडा÷बिज्ञको अभावमा कोरोना लगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरुप परिवर्तनबारे थाहा पाउनसक्ने मेसिन  हेटौंडामा उपयोग हुन सकेको छैन ।
भाइरस ब्याक्टेरिया, प्यारसाइटहरुको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न हेटौँडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन सञ्चालनको लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्छ । तर उक्त पदको दरबन्दी यस कार्यालयमा छैन ।
पीसीआर मेसिन सञ्चालनको लागि भनेर पारासाइकोलोजिष्टको दरबन्दी कायम गरिएपनि दरबन्दी खाली रहेको केन्द्रका इण्टोमोलोजिष्ट (किट बिज्ञ) शिशिर कुमार पन्तले बताए । ‘यो मेसिनको काम नै भाइरसहरुको प्रकार र स्वरुप परिवर्तनबारे अध्ययन गर्ने हो, तर हामीसंग यो मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव छ’, उनले भने, ‘माइक्रोबायोलोजिस्ट नभएपनि विषयको अध्ययन छ भने यो मेसिन पारासाइकोलोजिष्टले पनि सञ्चालन गर्नसक्छ ।’
आवश्यक उपकरण हेटौँडामै भएर पनि कोरोना भाइरसको आशंका भएमा परीक्षणका लागि नमुना काठमाडौँको टेकुमै पठाउनुपर्ने बाध्यता रहेको केन्द्रका ल्याव टेक्निशियन निरीक्षक रामबाल यादवले बताए । केन्द्रमा रहेको ल्याव पनि पूर्ण रुपमा सञ्चालनमा रहेको छैन । जनशक्तिसँगै थप उपकरण र केमिकलको अभावमा ल्याब पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको केन्द्रले जनाएको छ ।
२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुईजना प्राविधिक कर्मचारी कार्यरत छन् । ‘३ जना माइक्रोबायोजिस्टको दरबन्दी थप गर्ने हो भने कोरोना भाइरसको अध्ययन र परीक्षण हेटौंडाको यही ल्याबबाट हुन सक्छ’, ल्याव टेक्निशियन निरीक्षक यादवले भने ।
दाताकै सहयोगमा कार्यरत माइक्रोबायोलोजिष्ट डा. विजय ब्रज्राचार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएर गएका छन् । संघीय सरकार मातहत रहेको यो ल्याबमा जनशक्ति अभाव हुँदा नियमित सञ्चालन हुन सकेको छैन । ‘अधिकांश समय बन्द हुने यो ल्याबलाई नियमित सञ्चालन गर्ने हो भने बागमती प्रदेशको राजधानी हेटौँडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटहरुको अध्ययन भगरी उपचारलाई सहज बनाउन सकिनेछ’, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले भने ।
यो ल्याब सञ्चालन भए मानव शरिरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गरेर यहीँ उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् । २१ जना दरबन्दी रहेको केन्द्रमा हाल प्राविधिकहरु सहित हाल १६ जना कार्यरत रहेका छन् । कार्यालय प्रमुख प्रमुख डा यदुचन्द्र घिमिरे दुई हप्ता अघि सरुवा भएर अन्यत्र गएपछि केन्द्र प्रमुखबिहीन रहेको छ ।

तपाईको प्रतिक्रिया