हेटौंडाका निजी अस्पतालहरु बन्द,सरकारीमा न्युन बिरामी

गुगलपाटी संवाददाता
१४ चैत्र २०७६ ०३:४०

बागमती प्रदेशको राजधानी हेटौंडामा आधा दर्जन निजी अस्पतालको कुनै पनि कक्षमा बिरामी छैन । आकस्मिक कक्ष खुल्ला गरिएपनि रुघाखोकी र ज्वरोका बिरामीको उपचार गर्न अप्ठ्यारो मान्छन् ।
हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालमा पनि बिरामीको चाप घटेको छ । दैनिक पाँचसय बढि बिरामी आउने गरकोमा हाल दैनिक मुश्किलले एकसय जना बिरामी आउने गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । ‘हामीले मुल गेटमा आउने बित्तिकै ज्वरो नाप्छौं, अन्य स्वास्थ्य सावधानी अपनाएर मात्र अस्पतालमा प्रवेश गराउदै आएका छौं’, उनले भने, ‘अत्यावश्येक सेवा लिने बाहेक अरु सबै बिमीलाई अहिलेको समयमा नआउन भनेका छौं ।’
अस्पतालमा १ सय ८ बेड रहेकोमा २२ बेडमा मात्र बिरामी रहेको पौडेलले बताए । मौसम परिवर्तनका अस्पतालमा कारण अघिल्लो वर्षहरुमा यो सिजनमा रुघाखोकी र ज्वरोको अत्याधिक बिरामी आउने गरेको थियो । तर यस वर्ष स्वास्थ्य सतर्कताका कारण न्युन मात्र त्यस्ता बिरामी आउने गरेको अध्यक्ष पौडेलले बताए । अन्य निजी अस्पताल बन्द हुँदा आकस्मिक कक्षमा भने बिरामीको चाप अन्य समयमा जस्तै रहेको उनले बताए ।
सरकारले निजी आस्पतालाहरुलाई कुनै निर्देशन नदिएकाले बन्द जस्तै हुन पुगेको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीले बताए । ‘हामीले अकास्मिक कक्ष खुल्ला राखेका छौं, अरु बिरामी छैन’, उनले भने, ‘सरकारले भनेको खण्डमा हामीले सक्ने सेवा दिन तयार छौं ।’ चुरेहिलसँगै हेटौंडामा हेटौंडा सिटी अस्पताल, अर्थोपेटिक अस्पताल, सहकारी अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेका छन् ।
प्रदेश सरकारले भने हेटौंडाको निजी विद्यालय, पार्टी प्यालेस र सरकारी विद्यालय भवनहरुमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माणको काम अघि बढाएको छ । हेटौंडा ४ स्थित श्रमिक माविमा आइसालेसन कक्ष निर्माणको काम बुधबारदेखि सुरु भएको छ । ‘हामीले ४० कोठे नयाँ भवन उपलब्ध गराएका छौं, आइसोलेसन निर्माणको लागि आवश्यक सामानहरु ल्याउने काम सुरु भएको छ’, विद्यालयका पिटिए अध्यक्ष इश्वरी कोइरालाले भने ।

श्रमिक माविमा निर्माण गर्न लागिएको आइसोलेसन कक्ष

बागमती प्रदेश सरकारले श्रमिक माविको भवनले नपुगे हेटौंडा अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्ने जनाएको छ । ‘पहिलो चरणमा श्रमिक मावि हो,त्यसले बिरामीको चाप थेग्न सकेन भने हेटौंडा अस्पताललाई प्रयोग गर्नेछौं’,सामाजिक विकास मन्त्री युवराज दुलालले भने । आइसोलेसन कक्षमा हेटौंडा अस्पतालले स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्नेछ । हेटौंडा एकेडेमीमा क्वारेन्टाइन निर्माण सकिएको दुलालले बताए ।
धमाधम आइसोलेसन कक्ष निर्माण
बागमती प्रदेशका अन्य जिल्लाहरुमा पनि आइसोलेन र क्वारेन्टाइन निर्माण गरिएको छ । रसुवामा २० बेड, नुवाकोटेमा १० बेड, धादिङमा २० बेड आइसोलेसन कक्ष निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धादिङमा ८० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।
चितवनको भरतपुरमा ७० बेडको आइसोलेसन, १० बेडको आइसियु र रत्ननगरमा २० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको सामाजिक विकास मन्त्री दुलालले जानकारी दिए । त्यस्तै सिन्धुलीमा ५ बेड आइसोलेसन, ५० बेडको क्वारेन्टाइन, रामेछापमा ३३ बेडका आइसोलेन, ३५ बेडको क्वारेन्टाइन, दोलखाको जिरीमा २ बेडको आइसोलेन र चौतारमा १९ बेडको आइसोलेन कक्ष निर्माण गरिएको उनले बताए ।
सिन्धुलपाल्चोकमा ६ बेडको आइसोलेसन, काभ्रको धुलिखेल अस्पतालमा २० बेडको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । भक्तपुरमा २१ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ । भक्तपुरमा ६ जना आइसोलेसन कक्षमा राखिएको र ४ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्री दुलालले बताए । स्थानीय तहहरुले पनि क्वारेन्टाइन र आइसोेलेसन कक्ष निर्माण गरिरहेको छ । काठमाण्डौं र ललितपुरमा भने संघीय सरकारको ब्यवस्था अनुसार हुने मन्त्रालयले जनाएको छ ।

सुनसान हेटौंडा बजार

(अन्नपूर्ण पोष्ट दैनिकबाट)