दादुराबाट धादिङमा दुई जनाको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी
गुगलपाटी संवाददाताधादिङ — डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् ।
मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।
उनका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । गाउँपालिकाको वडा–६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन् ।
गत फागुन ६ मा पहिलोपटक चरौदीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा चार बालकलाई उपचारका लागि ल्याइएपछि दादुरा फैलिएको पत्ता लागेको हो । चेपाङ बस्तीहरुमा दादुरा फैलिएको थाहा पाए लगत्तै फागुन ७ मा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली रोतेस, सोलडाँडालगायतका स्थान पुगेको थियो । ४५ जना दादुरापीडित पत्ता लगाएर ७ जनाको रक्त परीक्षणसमेत गरिएको थियो । तीमध्ये गम्भीर अवस्थाका दुई बालकलाई थप उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल पठाइएको थियो ।
२०७४ मंसिर १६ मा जिल्लालाई ‘आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा’ गरिएको थियो । तर, विकट चेपाङ बस्तीमा बालबालिकाले खोप लगाउन पाएका छैनन् । गत साता छोरी अनिसालाई गुमाएकी ६ सन्तानकी आमा सोल्टीमायाले एउटै सन्तानले पनि खोप लगाउन नपाएको बताइन् । उनका अन्य दुई छोरीहरु १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले थलिएका छन् ।
दादुराको प्रकोप फैलिएको बस्ती पुगेका बेनीघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले यसपटक मात्रै करिब २ सय जनालाई खोप लगाइएको बताए । लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका सबै बालबालिकालाई दादुरालगायतका आधारभूत खोप दिइने उनले जानकारी दिए ।
स्रोतः कान्तिपुर