लकडाउनमा मजदुरको चिन्ता– रोगले भन्दा भोकले मरिने भो
गुगलपाटी संवाददाताजाजरकोट : दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिबेला लकडाउनको पीडामा छ। उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ । खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन्, दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिनदेखि काममा गएको छैन । घरमै छु । पैसा छैन । के खाएर पेट पाल्ने हो ।
तीन सन्तानकी आमा उनी एकल महिला हुन् । ज्याला मजदुरी गरेर आफू र केटाकेटी पाल्दै आएकी उनलाई कोरोना भाइरसको संक्रमण फैलने चिन्ताभन्दा कसरी आफू र केटाकेटीको पेट भर्ने भन्ने पिरलो छ।
भेरी नगरपालिका ३ कल्यानपुरका देवबहादुर कार्की दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्थे । दिनहुँ बजारमा आएर ट्रकबाट मालसमान झार्ने, बोक्ने (पल्लादारी) लगायतका काम गर्थे । त्यसरी काम गरे वापत कमाएको पैसाले खाद्यान्न, नुन तेलको जोहो गर्थे ।
तर १३ दिनअघि कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले देशभर लकडाउन गरेपछि उनी काममा निस्कन पाएका छैनन् । घरभित्रै बसिरहेका छन् । तर उनलाई एउटै कुराको पिरलो छ । घरमा भएको खाद्यान्न सबै सकियो । मजदुरी गरेर कमाएको पैसा पनि बचत छैन । कसरी जहान केटाकेटी पाल्ने उनले समस्या सुनाउँदै भने, कहिलेसम्म घरबाट निस्कन पाइने होइन, त्यतिबेलासम्म हामी के खाएर बाँच्ने रु कोरोना संक्रमणको चिन्ता भन्दा छाक टार्ने चिन्ता छ ।
त्यस्तै, बारेकोट गाउँपालिका तोलखानाकी पवित्रा सिंह सदरमुकाममा दिनहुँ गिट्टी कुटेर गुजरा चलाउने गर्थिन् । श्रीमानको १० वर्षअघि मृत्यु भएपछि दुई छोरा र एक छोरी गिट्टी कुटेरै भएपनि पाल्दै आएकी थिइन तर लकडाउनले उनको चुल्हो बल्न छोडेको छ । ुकसरी केटाकेटीको पेट भर्ने हो, साह्रै समस्या भो ,ु उनले भनिन्।
भेरी नगरपालिका ४ मुलपानीकी विष्णुमाया विक गिट्टी कुटेर गुजरा चलाउँछिन्। श्रीमानले दास्रो श्रीमती विवाह गरेपछि विष्णुमाया २ छोरी १ छोरा लिएर माइतीघर बस्छिन् । छोराछोरी साना थिए । श्रीमानले छोडे पछि छोराछोरीको लालनपालनको जिम्मेवारी सबै मेरै काँधमा आयो, विष्णुमायाले भनिन् ।
छोराछोरीलाई पढाउँछु भनेर माइती गाउँमा आएर गिट्टी कुटेरै गुजरा चलाउँदै आएको उनले बताइन्।ु १३ दिन भो । घर बाहिर ननिस्कनु भनेका छन् । काममा जाने त कुरै छैन । घरमा खाद्यन्न छैन के खाएर बाँच्ने हो । भोकले मार्ने हो कि कोरोनाले उनले चिन्ता प्रकट गदै भनिन्, हामी गरीबलाई सधै दुःखै दुःख छ।
लकडाउन लम्बिदै जाँदा मजदुर वर्ग थप समस्यामा परिरहेको छ । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले केही समय अति विपन्न परिवारको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताए । संकटको बेला बेलामा विपन्न परिवार बढी जोखिममा पर्ने भएकाले उनीहरुको संरक्षणमा सरकारले उचित ध्यान दिनुपर्छ, उनले भने ।
जाजरकोटमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारको संख्या दुई हजार बढी रहेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । तर केही स्थानीय तहले खाद्यान्न वितरण गरेपनि सदमुकाम रहेको भेरी नगरपालिकाले हाल सम्म मजदुरलाई सहयोग गर्ने कुनै सुरसार गरेको छैन।
स्रोतः अन्नपुर्णपोस्ट