विदेशबाट फर्किएका नागरिक गाउँमा छ्याप्छ्याप्ती, तर रित्ता छन् क्वारेन्टाइन
गुगलपाटी संवाददाताविदेशबाट फर्किएका नागरिकले लमजुङका गाउँ भरिँदै गएका छन्। तर, कोरोना संक्रमणको आशंकामा विदेशबाट आएका नागरिकलाई राख्नको लागि यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भने खाली छन्।
यहाँका ८ स्थानीय तहले ९ सय ४९ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन्। तर क्वारेन्टाइनमा बस्नेको संङ्ख्या अहिलेसम्म ४६ मात्रै रहेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। जिल्लामा १ चैतदेखि हालसम्म २ सय ८० जना वैदेशिक रोजगारीबाट गाउँ फर्किएको तथ्यांक जिल्ला प्रशासन कार्यालयले राखेको छ।
सुन्दरबजार नगरपालिकामा सबैभन्दा धेरै ६० जना वैदेशिक रोजगारीबाट फर्किएका छन्। नगरपालिकामा १ सय ३४ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। तर, क्वारेन्टाइनमा अहिलेसम्म एक जनालाई पनि राखिएको छैन।
बेंसीसहर नगरपालिकाले बनाएको १ सय ६० बेडको क्वारेन्टाइन पनि रित्तो छ। यूएईबाट आएका २ जनालाई केहीदिन क्वारेन्टाइनमा राखिएको थियो। तर स्वास्थ्य परीक्षण गर्दा संक्रमण नभेटिएपछि उनीहरुलाई घर जान दिइएको मेयर गुमानसिंह अर्यालले जानकारी दिए। अहिले १० जना मात्रै क्वारेन्टाइनमा छन्।
राइनास नगरपालिकासँग पनि ४५ जना विदेशबाट आएकाको तथ्यांक छ। तर, नगरपालिकाले निर्माण गरेको ६० शय्याको क्वारेन्टाइन भने खाली रहेको मेयर सिंहबहादुर थापाले बताए । मध्यनेपाल नगरपालिकाको ४० बेड क्षमताको क्वारेन्टाइनमा ३ जना मात्रै छन् । नगरपालिकासँग भर्खरै विदेशबाट आएका २५ जनाको तथ्यांक रहेको नगरप्रमुख रमेशकुमार पाण्डे बताउँछन् ।
मर्स्याङ्दी गाउँपालिकामा ६० बेडको क्वारेन्टाइनमा १४ जना बसेका छन् । गाउँपालिकासँग ४८ जना विदेशबाट आएकाको तथ्यांक छ। दोर्दी गाउँपालिकामा १४ बेडको क्वारेन्टाइनमा एकजना पनि छैनन् । तर, यो बीचमा गाउँपालिकामा विदेशबाट २० जना आएका छन्।
यस्तै दुधपोखरी गाउँपालिकाले निर्माण गरेको २८ शैयाको क्वारेन्टाइनमा हाल १ जनामात्र बसेका छन्। गाउँपालिकामा बैदेशिक रोजगारबाट १९ जना आएका छन्। क्वारेन्टाईनमा बस्नको लागि पटकपटक अनुरोध गर्दा पनि बस्न नमानेको दुधपोखरी गाउँपालिकाकी अध्यक्ष छुपीमायाँ गुरुङले बताइन्।
सबैभन्दा बढी क्व्होलासोंथर गाउँपालिकामा ४ सय ४४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। जसमा अहिले १९ जना मात्रै बसिरहेका अध्यक्ष प्रेम घलेले बताए।
स्रोतः नयाँपत्रिका