काठमाडौं उपत्यकामा सोमबार लकडाउन उल्लंघन गर्ने १७ सय प्रहरी नियन्त्रणमा
गुगलपाटी संवाददाताकोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउन उल्लंघन गर्ने १७ सय २८ जनालाई सोमबार प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा बिहान ६ बजेदेखि १० बजेसम्म लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अत्यावश्यक काम नभई सडकमा निस्केकालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकामा १३ सय ४७ जना पुरुष र तीन सय ८१ जना महिला छन् ।
यसरी नियन्त्रणमा लिएकाहरूलाई तीन घन्टा सार्वजनिक स्थानमा राखेर फेरि लकडाउन उल्लंघन नगर्ने सर्तमा छोडिने प्रहरीले जनाएको छ ।
त्यस्तै लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेक र विनापास चलेका तीन सय ७० वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतः नयाँपत्रिका