चुरियामायमा ज्यालादारी गर्दै आएकाहरुलाई खाद्यान्न वितरण
गुगलपाटी संवाददातानिर्माण व्यवसायी सङ्घ मकवानपुरले बन्दाबन्दी (लकडाउन) का कारण खाद्यान्न अभाव बेहोर्न बाध्य विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १५ का विपन्न तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई लक्षित गरी निर्माण व्यवसायी सङ्घ मकवानपुरले सोमबार चुरियामाईमा खाद्यान्न सामग्री उपलब्ध गराएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणको जोखिमबाट बच्न देशभर लकडाउन गरेसँगै विपन्न तथा दैनिक ज्यालादारी गर्ने श्रमिक खाद्यान्न जोहो गर्न नसकेर समस्यामा परेका छन् ।
सङ्घका मकवानपुर अध्यक्ष श्यामसुन्दर ढकालले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारको दैनिक जीवनयापन कष्टकर बन्दै गएकोले दैनिक उपभोग्य सामग्री प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, भूकम्प, बाढी पहिरोलगायत विपद्का कारण समस्यामा परेकालाई सहयोग गर्दै आएका थियौ, अहिले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विपन्न र दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेकोले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरिएको हो ।
सङ्घले चामल, दाल, नुन र तेल २७ जना परिवारलाई वडा कार्यालय मार्फत वितरण गर्ने गरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष महारत्न लामालाई हस्तान्तरण गरेको छ । वडाध्यक्ष लामाले लामो समयको लकडाउनले विपन्न र दैनिक ज्यालादारी गर्दै आएकाहरुको जीवन कष्टकर बन्दै गएको भन्दै उपलब्ध सहयोगले वडाका विपन्न परिवारलाई राहत मिल्ने बताउनुभयो । उहाँले वडामा दैनिकी विपन्न र दैनिक ज्यालादारी गर्दै आएका श्रमिकको सङ्ख्या धेरै रहेकोले दाताहरुलाई सहयोगका लागि आग्रह गर्नु भएको छ ।
वडा कार्यालयमा भएको खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष बालगोपाल कँडेल, द्धितीय उपाध्यक्ष सागर भट्टराइ, कोषाध्यक्ष ईश्वर पाठक, उपमहासचिव भवनाथ अधिकारी, कार्यसमिति सदस्यहरु सुरज बर्तौला र सन्दीप राजबाहकको उपस्थिति रहेको थियो ।