दुःखीको दिन आउँछ भन्थे, कुन जुनीमा पो आउँछ’

गुगलपाटी संवाददाता
१३ बैशाख २०७७ १३:५७

-कुमारी स्याङ्बो
हेटौंडाः सन्तबहादुरको दम्पती सुन्दर भविष्य कल्पना गरेर बजार झरेका थिए। ५ छोराछोरीलाई राम्रो पढाउने, ठुलो मान्छे बनाउँने सपना हुर्कदै थियो। सपनालाई सार्थक बनाउँन उनीहरु धादिङबाट मकवानपुरको मनहरीमा संघर्षरत थिए।
दैनिक १२ सय कमाईले कोठामा परिवार राखेर सबैको पेटलाई धान्न पनि गाह्रो थियो। त्यसमाथि अचानक चेपाङ्गको सपनामा चट्याङ्ग परे जस्तै भयो। नेपाल सरकारले कोरोना भाईरसको जोखिमबाट जोगाउँन भन्दै लकडाउन घोषणा ग-यो।
खासै नपढेका उनीहरु अलमलमा परे। लकडाउन जब शुरु भयो, त्यो त उनीहरुकै विरुद्ध ल्याएको जस्तो थियो। ‘दुःखीलाई जता गएपनि दुःखै भन्थे हजुर हो रैछ,’ सन्तबहादुरले खुई काट्दै भने। पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित सिमपानीमा उनको परिवार कोठा भाडामा बस्छन्।


अब खानेकुराको कसरी जोहो गर्नेको कुरै छाडौ, घरभाडा कसरी तिर्ने भन्नेमा चेपाङ्ग दम्पती चिन्तित छन्। ‘घर जाउँ कसरी जानु, गाडी बन्द छ। त्यहाँ गएर पनि के खानु,’ गुगलपाटीसँग दुःख साट्दै सन्तबहादुरले भने, ‘लकडाउनले त हामीलाई धेरै मार पर्यो हजुर।’ श्रीमान्–श्रीमतीले दिनहुँ ज्यामी काम गरेर ७ जनाको परिवारको पेट भर्दै आएका थिए।
लकडाउन भएपछि कामको कुरै छाडौ, घरबाहिर हिड्न समेत सरकारले रोक लगाएको छ। कोभिड–१९ को त्रासले विश्व नै ग्रसित रहेको अवस्थामा चेपाङलाइ भने कोरोनाको डरले भन्दा भोकले गाह्रो परेको देखिन्छ। उनले दुःखेसो पोख्दै भने, ‘चेपाङ भएर जन्मिनु बेकार रहेछ, न खान पाउनु, जति दुःख गरेपनी एक छाक टार्न साह्रै गाह्रो पर्ने।’
३८ वर्षीय सन्तबहादुरको ३ छोरा, २ छोरी र श्रीमती गरि ७ जनाको ठुलो परिवार छ। बिगत ४ महिनादेखि सिमपानीमा बस्दै आएका चेपाङ परिवारको आर्थिक अवस्था नाजुक छ। गरिबीसँगै चेतना त कम हुने नै भयो, आर्थिक समस्याले झनै थिचेको छ ।
‘कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ रे, हामीसँग पानीबाट जोगिन छाता किन्ने पैसा त छैन, केको मास्क,’ उनले पीडा सुनाए । केही दिनअघि मनहरीको सिमपानीहुँदै चितवनको गड्यौली जान जंगलको बाटो हुँदै पैदल यात्रामा सन्तबहादुरको परिवार भेटियो । ९ महिने छोरी र २ वर्षीय छोरालाई बोराले पानीबाट उनीहरुले जोगाउँदै हिड्दै थिए ।
लकडाउनमा सडकमा हिड्न प्रहरीले रोक्ने र मास्कसमेत नभएपछि जंगलको बाटो भएर हिड्नुपरेको उनको भनाई थियो। सडकमा चल्ने सवारी चालकहरुले समेत दुःख नबुझेको भन्दै उनले जंगली जनाबर भन्दा मान्छेकै डर मान्नुपर्ने बेला आएकोमा अचम्म माने। सबैका परिवार एकैघरमा रमाईलो गरी बसेको देख्दा चेपाङ परिवारको मन चसक्क दुःख्छ। किनकी गरिबी र कमाईले जिविकोपार्जन गर्नै धौ–धौ परेकाले एउटा छोरा र एउटा छोरि धादिङमै आमा–बाबासँगै छाडेर आएका छन्।
चेपाङ दम्पती सन्तबहादुरको सालीको घर(चितवन, गड्यौली) जान मनहरीबाट ५ घण्टाको पैदल यात्रा गरेर नयाँवस्ती आइपुगेका थिए। ‘जंगलमा हात्तीलगायत जनावरको धेरै डर छ, गाउँलेहरु त जंगलै जाँदैन, तर गरिबीले गर्दा उनीहरुको पीडा कस्ले बुझ्देला,’ नयाँबस्तीका स्थानीय जितेन घलानले भने।
उनीहरु हुरिबतास, असिनापानी, चट्याङको वेवास्ता गर्दै पानीमा भिज्दै नयाँबस्ती आईपुगेका थिए । तर कलिला छोराछोरिलाई फेरदिन अर्को जोर कपडा थिए उनीहरुसँग। होस् पनि कसरी कपडा किन्ने पैसा भएको भए बोरा ओडेर हिड्दैन थिए होला यो युगमा।
बिहान कोठामा भएको खाना खाएर हिडेका उनीहरु रातभरी हिडेरै भएपनि आफन्त कहाँ पुगेर प्राण बचाउँने योजनामा थिए । ‘मास्क लगाउँने त पैसा छैन,’ चेपाङले भने, ‘मेरो साथमा एक रुपैंया पैसा पनि छैन हजुर।’
कोरोना भाइरसका कारण लकडाउन भएपछि न काम पाईन्छ, न माम पाईन्छ। गरिखाने बर्गका चेपाङ्गको परिवारले धेरै दिनहरु आधा पेट त कहिले भोकैसमेत बिताएको बताए । पुर्व–पश्चिम राजमार्गको नयाँबस्तीनजिकै एउटा मनकारीले गाडी रोकेपछि जाँदाजाँदै भने, ‘खै हजुर, दुःखीको दिन आउँछ भन्थे, कुन जुनीमा पो आउँछ।’