प्रहरीको गाडीमा ढुंगामुडा भएपछि नेपालगन्जमा तनाव

गुगलपाटी संवाददाता
२३ बैशाख २०७७ ०६:४४

नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो ।
निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेको एसपी वीरबहादुर ओलीले बताए ।

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव पैदा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ,’ वलीले भने ।
स्रोतः कान्तिपुर