काठमाडौंमा कतिजनामा भयो कोरोना परीक्षण ?
गुगलपाटी संवाददाता![](http://googlepati.com/wp-content/uploads/2020/03/download-4-2.jpg)
काठमाडौँ — सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनको समयसीमा पछिल्लोपटक बैशाख २५ गते सम्मका लागि बढाएको थियो । लकडाउनको सीमा नजिकिँदै जाँदा पुनः लकडाउन बढाउने कि खुकुलो गर्दै लैजाने भन्ने बहस सुरु भएको छ ।
लकडाउनबारे निर्णय गर्न मंगलबार नै कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि बसिरहेको छ ।
स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरुले लकडाउनको भविष्यबारे एकप्रकारको योजना बनाएका छन् भने सुरक्षा अधिकारीहरुले पनि आफ्नै हिसाबमा योजना बनाएका छन् । उनीहरुको योजनाको समान विषय भने काठमाडौं उपत्यकामा क्रमशः लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रहेको जानकार स्रोतहरुले दाबी गरेका छन् ।
काठमाडौंलगायत पछिल्लो समय कोरोनाको संक्रमण नदेखिएका स्थानमा विस्तारै लकडाउन खुकुलो पार्दै लैजानुपर्छ भन्नेमा प्रायः सबै जनस्वास्थ्यविद् तथा चिकित्सकहरु सहमत छन् । तर, उपत्यकामा हालसम्म गरिएको परीक्षणको संख्याले उनीहरुमा सन्देह पनि उत्पन्न गरिदिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालास्थित स्रोतका अनुसार प्रयोगशालासँग हालसम्म काठमाडौं उपत्यकाको कतिवटा नमुनाको पीसीआर परीक्षण गरियो भन्ने रेकर्ड नै छैन । उनका अनुसार ल्याबमा आइपुग्ने फारममा शंकास्पद संक्रमितको नागरिकताका आधारमा स्थायी ठेगाना उल्लेख गरिने भएकाले पनि तत्काललाई संख्या यकिन गर्न कठिन छ । उनले भने, ‘पछि सर्भेलेन्सको बेला सबै डाटा निकालेर हेर्दा भन्न सकिएला । अहिलेलाई भने त्यो रेकर्ड हामीसँग छैन ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यगमन विभागको तथ्यांकअनुसार चैत १ देखि १० गतेसम्मको अवधिमा हवाइमार्ग भएर मात्रै काठमाडौंमा करिब २१ हजार व्यक्ति प्रवेश गरेका छन् । जसमध्ये ३ हजारको हाराहारीमा विदेशी छन् भने बाँकी १८ हजार जति नेपाली छन् । ती १८ हजार नेपालीमध्ये कतिजनाको पीसीआर परीक्षण गरियो र कतिको आरडीटी परीक्षण मात्रै भयो भन्ने तथ्यांक पनि फेला पार्न सकिदैन ।
कन्ट्याक ट्रेसिङको जिम्मा पाएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले विदेशबाट आएका नागरिक र उनीहरुको परीक्षण भएरनभएको बारे जानकारी माग गर्दा अनविज्ञता प्रकट गरे । ‘काठमाडौं उपत्यकामा कतिको के परिक्षण भयो भन्ने रेकर्ड त प्रयोगशालासँग नै होला । मलाई थाहा भएन त्यो बारे,’ उनले भने ।
पूर्वी तराईका केही जिल्ला तथा नेपालगन्जमा पनि संक्रमितहरुको संख्यामा बढोत्तरी भएसँगै काठमाडौं उपत्यकाभित्र विभिन्न नाकाबाट प्रवेश गर्नेहरुको संख्या पनि बढेको दाबी गरिएको छ । यद्यपि नेपाल प्रहरीका उच्च अधिकारीहरु भने यो भनाइसँग सहमत छैनन् ।
उनीहरुसँग यसबारे औपचारिक प्रतिक्रिया लिन गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । तर, थानकोट नाकाबाट भने कुनै पनि यात्रुवाहक बस नभित्रिएको महानगरीय प्रहरी प्रभाग थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार थानकोट नाकाबाट दैनिक ३ सय गाडी भित्रिन्छन् र ती सबै अत्यवश्यक सेवासँग सम्बन्धित मात्रै छन् ।
संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीका अनुसार अब सरकारले पछिल्लो समय संक्रमण नदेखिएको स्थानमा लकडाउन खुकुलो गर्दै परीक्षणको दायरा भने बढाउँदै लैजानु नै उचित हुन्छ । ‘सरकारले विदेशबाट आएका सबैको पीसीआर परीक्षण गर्न सकेको भए उचित हुन्थ्यो । त्यो भएको जस्तो देखिन्न,’ उनले भने, ‘अब विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ र परीक्षणलाई पनि तीव्रता दिनुपर्छ ।’
डा। सुवेदीका अनुसार यथोचित संख्यामा परीक्षण नगरि उपत्यकामा संक्रमितहरु छैनन् भनेर भन्नु गलत हुन्छ ।
ईडीसीडी तथा सीसीएमसीले आ–आफ्नै हिसाबमा विदेशबाट आएकाहरुको ट्रेसिङ गरेर उनीहरुलाई परीक्षणको दायरामा ल्याउन प्रयास नगरेको भने होइन । तर, विदेशबाट आउनेहरुले फारममा भरेको विवरण र उनीहरुको वास्तविक अवस्था नमिलेपछि ट्रेसिङमा समस्या भएको बताउँदै आएको छ । यस्तै ट्रेस भएकाहरु मध्ये पनि धेरैको स्थानीय तहले नै आरडीटी परीक्षण मात्रै गरेको छ ।
स्थानीय तहले नै आरडीटी गर्दा काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनाको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि पाटन अस्पताल पठाइएको थियो । पछि अस्पतालले पीसीआर परीक्षण गर्दा ३ मध्ये २ मा मात्रै कोरोना पोजिटिभ रहेको पाइएको थियो ।
ती दुईलगायत चैतको पहिलो साता विभिन्न देश हुँदै त्रिभुवन विमानस्थल अवतरण गरेका ७ जनामा संक्रमण रहेको भेटिएको थियो । तीमध्ये कैलालीका एकजनाबाट मात्रै अरुमा भाइरस सरेको फेला परेको थियो । काठमाडौं, बागलुङ र कैलालीमा भेटिएका संक्रमितहरुसँग एउटै विमानमा आएका अन्य यात्रीहरुमा भने संक्रमण रहेको नपाइएको ईडीसीडीले दाबी गरेको छ ।
स्रोतः थाहाखबर