मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन कम्तीमा एक हप्ता थपिने
गुगलपाटी संवाददाताकाठमाडौँ — कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले आज (बुधबार) लकडाउन थप्ने निर्णय गर्दैछ । यसका लागि मन्त्रिपरिषद् बैठक बिहान ११ बजेदेखि बस्दैछ । कम्तीमा एक साताका लागि लकडाउन थपिने एक मन्त्रीले कान्तिपुरलाई बताए । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।
संक्रमण फैलिएका, धेरै परीक्षण नभएका र संक्रमण नदेखिएका गरी तीन वर्गमा बाँडी त्यसैअनुसार लकडाउन खुकुलो बनाउँदै लैजाने सिफारिस कार्यदलले गरेको भएपनि सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा निरन्तरता दिने भएको हो । गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।
तर, मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन यथारुपमा थपिने बताएका थिए ।
स्रोतका अनुसार मंगलबारको बैठकमा नै प्रधानमन्त्री ओलीले ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन’ भन्ने धारणा राखेका थिए ।
२५ गते लकडाउन ४५ औं दिनमा पुग्दैछ । विज्ञहरुले पर्याप्त परीक्षण नभएको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने सुझाव दिएका छन् भने अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले भने आर्थिक क्षेत्र तहसनहस हुने भन्दै क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।
लकडाउन सुरु गर्दा दुईजनामा संक्रमण देखिएकोमा लकडाउन डेढ महिना पुग्दा संक्रमितको संख्या ८२ पुगेको छ ।