वीरगन्जमा संक्रमितसँग हेलमेल गरेका ८१ को पहिचान, स्वाब संकलन गरिँदै

गुगलपाटी संवाददाता
२५ बैशाख २०७७ ०८:३८

वीरगन्ज — वीरगन्जमा बुधबार भेटिएका १७ संक्रमितको सम्पर्कमा आएका मध्ये ८१ जनाको पहिचान भएको छ । नारायणी अस्पतालले एउटै टोलमा बस्ने उनीहरूको थ्रोट स्वाब संकलनको तयारी थालेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका ८१ जनाको पहिचान भएको बताए । ‘बुधबार कोभिड पोजिटिभ पुष्टि भएकाको सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘बेमौसमको पानीले केही अवरोध सिर्जना गरेको छ ।’ उपाध्यायका अनुसार क्लोज कन्ट्याक्टमा आएकाहरूको परीक्षणपछि दोस्रो चरणमा संक्रमित क्षेत्रमा समेत स्वाब परीक्षण गर्ने योजना रहे पनि साधनस्रोत अभाव छ । ‘हालसम्म ८ सय भीटीएम सकिएको छ,’ उनले भने, ‘अब नारायणी अस्पतालमा जम्मा ४ सय भीटीएम छन् ।’ बुधबारसम्म वीरगन्ज र आसपासका क्षेत्रमा करिब ८ सय जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

नारायणी अस्पतालका चिकित्सक डा। नीरज सिंहले सिल गरिएका तीनवटा वडा अति संवेदनशील क्षेत्र बनेको बताए । उनका अनुसार अब उक्त क्षेत्रलाई अविलम्ब ‘पुल स्क्रिनिङ’ गर्नुपर्छ । यसका दुई सम्भावित तरिका छन् । ‘परिवार स्क्रिनिङ तरिकाअन्तर्गत एक परिवारको स्वाब लिई एक पीसीआर नमुना बनाएर परीक्षण गर्ने, यसो गर्दा २ हजार ५ सयदेखि ३ हजार परीक्षणले द्रुत स्क्रिनिङ गर्न सकिन्छ,’ सिंहले भने, ‘त्यसमा कुनै नमुना पोजिटिभ देखिए पुनस् परिवारका प्रत्येक सदस्यको छुट्टा–छुट्टै स्क्रिनिङ गरी कसमा संक्रमण छ भन्ने पत्ता लगाउन सकिन्छ ।’

अर्को तरिका इलाका स्क्रिनिङ गर्ने हो । यसअन्तर्गत हरेक ५ सय मिटर क्षेत्रका सम्पूर्ण परिवारको स्वाब लिएर परीक्षण गर्न सकिन्छ । सिंहका अनुसार सरकारले पुल स्क्रिनिङ प्रक्रियालाई अहिलेसम्म मान्यता दिएको छैन । ‘तर, प्रत्येक व्यक्तिको स्क्रिनिङ गर्दा समय र साधन धेरै लाग्ने हुनाले अविलम्ब नीति संशोधन जरुरी देखिन्छ, उनले भने, ‘इजरायलले पनि आफ्नो देशमा पुल स्क्रिनिङ तरिकाबाट सम्पूर्ण नागरिकको स्क्रिनिङ गरेको हो ।’

राहत बाँड्नेमै संक्रमण

चैत ३० मा छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोभिड–१९ संक्रमण पुष्टि भएयता २४ दिनमा वीरगन्जमा संक्रमितको संख्या २१ पुगिसकेको छ । बुधबार एकै परिवारका १७ जना संक्रमित भेटिएपछि स्थानीय त्रासमा छन् ।

संक्रमण थप फैलन नदिन जिल्ला सुरक्षा समितिले महानगरका तीनवटा वडा सिल गर्ने निर्णय गरेको छ । पावर हाउस चौकदेखि रजतजयन्ती चौकसम्मको मुख्य सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सिल गरिएका वडा १, २ र ३ का स्थानीयले पीसीआर विधिबाट परीक्षण तीव्र पार्न माग गरेका छन् । वैशाख २१ मा वीरगन्ज–३ छपकैया निवासी ३६ वर्षीय पुरुष संक्रमित भएपछि उनको परिवार र ससुरालीका ३२ जनाको स्वाब परीक्षण गरिएको थियो । ससुराली घरमा कसैमा पोजेटिभ देखिएको छैन । ती युवक वडास्तरीय राहत वितरण सर्वदलीय समितिमा नेकपाबाट सदस्य हुन् । वडाध्यक्ष वैजु स्वर्णकारले उनलाई ‘स्क्रिनिङ’का लागि चैत १९ मा नारायणी अस्पताल लगेका थिए । वडाध्यक्षको रिपोर्ट भने नेगेटिभ आएको छ ।

वैशाख १४ मा सोही वडा निवासी ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । महानगरका सरसफाइ नाइके रहेका ती व्यक्ति वडा ३ मा राहत वितरणमा समेत सक्रिय थिए । ती युवक सरसफाइ नाइकेबाटै संक्रमित भएको चिकित्सकले आशंका गरेका छन् । चैत ३० मा कोभिड पुष्टि भएका तीन भारतीयको सम्पर्कमा आएको हुन सक्ने भन्दै ती सरसफाइ कर्मचारीको थ्रोट स्वाब परीक्षण गरिएको थियो । स्रोतका अनुसार ती सरसफाइ कर्मचारी जमाती व्यवस्थापन समितिको सदस्यका रूपमा समेत सक्रिए थिए ।