घरभाडा लिने, बस्न नदिने

गुगलपाटी संवाददाता
२६ बैशाख २०७७ ०९:२८

 ललितपुर :  मोरङ विराटनगरबाट हालै एक महिला ललितपुर महानगरपालिका–३ धोबीघाट आएकी थिइन्। त्यहाँ उनको डेरा छ। तर, बाहिरबाट आएका कारण कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै उनलाई त्यहाँ बस्न दिएनन्।

वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार त्यो घरमा एक वृद्धा बस्छिन्। उनले ती महिलालाई घरमा बस्न नदिएकी हुन्। ‘खोइ १ काभ्रेतिर जान्छु भन्थिन्, कता गइन् रु थाहा भएन’, वडाध्यक्ष महर्जनले भने।

उनका अनुसार बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेको संख्या बढेको छ। यसै साता पनि पोखराबाट अर्की महिला वडा नम्बर ३ मा आइन्। अन्य सवारी साधनमा आउने सम्भावना नदेखिपछि उनी एम्बुलेन्स चढेर आएकी थिइन्। छरछिमेकीले यसबारे वडामा गुनासो गरेपछि उनलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको महर्जनले सुनाए।

‘उनले पोखराभन्दा काठमाडौं सुरक्षित छ भनिन्’, उनले भने, ‘यसरी बाहिरबाट आउनेहरूका कारण त्रास बढेको छ।’ उनलाई जे चाहिन्छ वडामा खबर गर्न भनिएको छ। घरबाहिर निस्किन वञ्चित गरिएको उनले बताए।

ललितपुरमा भित्रिनेको संख्या बढ्दो देखिएपछि स्थानीय सरकार कडा रूपमा प्रस्तुत हुन थालेको छ। वडा नम्बर ९ ले बाहिरबाट आउनेलाई बस्न नदिने भन्दै प्रेस विज्ञप्ति निकालेको छ। स्थिति सामान्य नहुन्जेल भाडामा बस्नेहरूलाई नफर्किन आग्रह गरिएको छ। यसको जानकारी घरधनीले डेरामा बस्नेलाई फोनमार्फत दिनुपर्नेछ। जबर्जस्ती फर्किए टोल सुधार समितिको निगरानीमा १४ दिनसम्म पूरै घर ‘लक’ गरिने उल्लेख छ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले स्थानीय सरकारले त्यसरी घरबाट निकाल्ने र बस्नै नदिने काम उचित नभएको बताए। ‘माथिल्लो तहको सरकारले पनि हेर्छ’, उनले भने, ‘समस्यामा परेका नागरिकलाई पीडामा पार्नु हुँदैन। बरु सबैको आवश्यक परीक्षण गरेर सचेत गराउनुपर्छ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले पोखराबाट आएकी महिला धोबीघाटस्थित आफ्नो घरमा रहेको बताए। प्रहरीले यस्तै प्रकारका समस्या भएकाहरुको पहिचान गरिसकेको उनको भनाइ छ। प्रत्येक नागरिक आफैं सचेत भएकाले स्थानीय सरकारलाई निरंकुश नबन्न उनले आग्रह गरे। ‘भाडा पनि उठाउने, बस्न पनि नदिने’, उनले भने, ‘बाहिरबाट आउँदैमा कोरोना लागेको छ भन्नु उचित छैन।’

ललितपुर महानगरपालिकामा ७० हजार घरधुरी छन्। ५ प्रतिशत मात्र भाडामा नलगाएको देखिएको वडाध्यक्ष महर्जनको भनाइ छ। तर, काठमाडांै सुरक्षित गर्न भाडा उठाएर खानेहरू सचेत बन्नुपर्ने, आउनेजतिलाई आफैं क्वारेन्टाइनमा बस्न लगाउनुपर्ने उनको धारणा छ। उनले भने, ‘यस्तो बाक्लो बस्तीमा एउटालाई लागे सबैतिर फैलिन्छ।’

वडा नम्बर १३ का अध्यक्ष गणेश केसीले केही समयअघि पूर्वबाट आएको गाडी थानकोटमा रोक्दा केही यात्रु भागेर आफ्नो वडामा आएको बताए। ‘लुकेर भित्रिनेबाट खतरा छ’, उनले भने।

स्रोतः अन्नपुर्णपोस्ट