चीनबाट आइपुग्यो ३० हजार थान पिसिआर टेष्ट किट, हस्तान्तरण भोलि

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०७:१८

काठमाडौं : चीन सरकारले (कोभिड १९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट आज आइपुगेको छ। यसअघि चीन सरकारले आइतबारसम्म उपलब्‍ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए। चीनको छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान बोकेर काठमाडौंका लागि उडेको हिमालय एयरलायन्स आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समान ल्याइपुर्‍याएको बताइएको छ। चीन सरकारले सहयोगस्वरूप उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये आज ३० हजार आएको र बाँकी १० हजार भोलि बिहान आइपुग्‍ने महानिर्देशक श्रेष्ठले बताए। उनले भने, ‘सामान दुई चरणमा आउने भनिएको थियो त्यहीअनुसार आज ३० हजार पिसिआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको छ बाँकी भोलि आउने खबर आएको छ।’ यता, हिमालय एयरलायन्सले आफ्नो कार्गो उडानमार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई०, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ। हस्तान्तरण भोलि मात्रै आज ३० हजार पिसिआर किट आए पनि बाँकी सामान आएपुगेपछि भोलि मात्रै चीन सरकारले स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। केही दिनअघि स्विजरल्याण्ड सरकारले ३० हजार थान पिसिआर टेष्ट किट नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। स्वीजरल्याण्ड सरकारले दिएको ३० हजार पिसिआर किट र आज आइपुगेको पिसिआर किटपछि शंकास्पद बिरामीका लागि पिसिआर किट अभाव नहुने महानिर्देशक श्रेष्ठले बताए। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका र बाहिरका विभिन्‍न ठाउँमा गरी १८ वटा ल्याबबाट पिसिआर परीक्षण भइरहेको छ। तर, परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएपछि परीक्षण नै रोकिएको थियो। किट प्राप्त भएपछि परीक्षण हुँदै आएका प्रयोगशालामा परीक्षण सेवा सुचारु हुने बताइएको छ। गत वैशाख ४ गते स्वास्थ्य सेवा विभागले कोभिड-१९ को उपचारका लागि आवश्यक पिसिआर रिएजेन्टसँगै २२ थरीका स्वास्थ्य सामग्री ल्याउन भन्दै तीनवटा कम्पनीसँग सम्झौता गरेको थियो। तर, ती कम्पनीले आवश्यक सामान ल्याउन सकेका छैनन्। नेपाली सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामाग्री पनि आइपुगेको छैन।