सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०८:५७

सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या
हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ ।

उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट आउँछन् कहाँ जान्छन्, कुनै परिक्षण छैन ।’–एक स्थानीयले भने–‘यसले गर्दा कोरोना संक्रमणको जोखिम हटियामा बढेको छ यसबारे कसले हेर्ने रु’ उनले समय निर्धारण गरेर सवारीलाई बजारका विभिन्न स्थानमा रोकेर पठाउँदा उद्योगमा गाडिको चाप कम हुने बताए ।
‘एक घण्टामा कतिवटा गाडि लोड हुन्छ त्यति नै संख्याको हाराहारीमा गाडि आउने र जाने व्यवस्था गर्नुपर्यो ।’–अर्का स्थानीयले भने–‘कहिले पालो आउने ठेगान छैन कुरेर बस्ने, चालक सहचालकले जताततै हिडडुल गर्ने, गाडि रोकेर बाटो नै अस्तव्यस्त बनाउने गर्नु भएन ।’ जिल्ला प्रशासन, प्रहरी र ठूला व्यवसायीहरुको मात्रै कुरा सुनुवाई हुँदा स्थानीयको स्वास्थ्यमा खेलवाड भईरहेको स्थानीयले बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अनावश्यक चहलपहललाई रोक्न उद्योगलाई अवगत गराउने बताए । आफ्नो उद्योगभित्र अट्ने सवारी प्रवेश गराउने, बाहिर भिड नगर्ने र यातायातका कर्मचारीलाई पनि उद्योगभित्र राख्ने वातावरण बताउन उद्योगलाई निर्देशन दिने उनले बताए ।