दाङको क्वारेन्टाइनमा जन्मिए जम्ल्याहा

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०९:३५

दाङ — तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जम्ल्याहा बच्चा जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन् ।

दाङको तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेकी महिलाले जन्माएका जुम्ल्याहा बच्चा । तस्बिर स् दुर्गालाल केसीरकान्तिपुर ।

गर्भवती यादव बिहीबारदेखि क्वारेन्टाइनमा बस्न थालेकी थिइन् । चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइती घरमा रहेकी यादव गाडी र पैदलयात्रा गर्दै दुई दिनमा घर आइपुगेकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खबर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित क्वारेन्टाइनमा राखेको तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । उनको र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको न्यौपानले बताए । यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पतालकी मेडिकल अधिकृत डा। लिजा पुरीका अनुसार दुवै बच्चा स्वस्थ छन् । एउटा १।८ र अर्काको १।५ केजी तौल रहेको उनले बताइन् । आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको पुरीले जानकारी दिइन् । यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै हेरचाहको सबै जिम्मेवारी लिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

दाङको तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेकी महिला सुत्केरी भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ।
यादवका यसअघि दुई छोरा र दुई छोरी छन् । श्रीमान र घरपरिवारले वास्ता नगरेपछि यादवको सबै स्याहार नगरपालिकाले नै गरेको उनले जानकारी दिए ।