आन्तरिक विमान कम्पनी : पार्किङ शुल्क छुटको प्रस्ताव

गुगलपाटी संवाददाता
२९ बैशाख २०७७ १०:३२

काठमाडौं : नेपाल उड्डयन प्राधिकरणले जहाज तथा हेलिकप्टर पार्किङ गरेबापतको शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरेको छ। प्राधिकरण बोर्डको आन्तरिक गृहकार्यबाट लकडाउन सुरु भएदेखि लकडाउन भरी र आन्तरिक तथा बाह्य उडान खुलेको १ महिनासम्मका लागि पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरिएकोे प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पार्किङसँगै सबै विमानस्थल हातामा रहेका पसल–कवलहरूको भाडामा पनि ७५ प्रतिशत नै छुट दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

कोरोनाका कारण सरकारले लकडाउन र सबै आन्तरिक तथा बाह्य उडान बन्द गरेको छ। लकडाउन कहिले खुल्छ र उडान कहिलेबाट सुचारु हुन्छ भन्ने यकिन गर्न सकिने अवस्था अझै छैन। करिब डेढ महिनादेखि केही चार्टर्डबाहेक सबै उडान ठप्प छन्। धराशयी बन्दै गएको आन्तरिक हवाई व्यवसायलाई केही राहत दिने गरी प्राधिकरणले यस्तो निर्णय गरेको प्रवक्ता क्षेत्रीले अन्नपूर्ण पोस्ट्लाई बताए। प्राधिरकणले यो प्रस्तावलाई प्रतिवेदन बनाएर पर्यटन मन्त्रालयमा बुझाएको छ भने यसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट पारित हुनुपर्नेछ।

प्राधिकरणको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरे लकडाउन सुरु भएको चैत ११ गतेदेखि जहाज पार्किङ र पसल–कवलहरूको भाडावापतको शुल्कमा छुट दिइनेछ। लकडाउन खुले पनि सरकारले आन्तरिक तथा बाह्य उडान जहिले खुलाउँछ त्यसको ठिक १ महिनासम्म प्रस्तावित दुवै क्षेत्रमा छुट दिइने क्षेत्रीले जानकारी दिए।

प्राधिकरणले पार्किङवापतको शुल्क अन्तर्गत १ हजार किलोको १ डलर लिने गर्छ। यो ६ घण्टाको अवधिका लागि हुने र आन्तरिक तथा बाह्य दुवै जहाजको हकमा लागु हुने गरेको छ। अन्तर्राष्ट्रिय जहाज ७७ हजार किलोग्रामभन्दा बढी तौलका हुने गरेको बताइन्छ। तर, विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज पार्किङ हुने गरेको छैन।

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रियतिर २० वटा र आन्तरिकतिर करिब ७ वटा पसल तथा कवल सञ्चालनमा छन्। उपत्यका बाहिरका विमानस्थलमा पनि पसल तथा कवल सञ्चालनमा रहेका छन्।

राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले सबै आन्तरिक विमान कम्पनीलाई केही सहुलियत दिने गरी नियमित समयमा भएको आम्दानीको विवरण मागेको छ। त्यसै अनुरूप हिमालय, नेपाल एयरलाइन्सलगायत सबै विमान कम्पनीले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुनसम्म आम्दानीको विवरण राष्ट्र बैंकमा बुझाएको बताइएको छ। यही आधारमा नै राष्ट्र बैंकले सहुलियत अघि सार्ने बताइएको छ। वैशाख २५ गतेसम्मको बन्दाबन्दी र जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य उडान बन्द भएपछि केही चार्टर्डबाहेक अहिले सबै विमान थन्किएका छन्।

आन्तरिक र बाह्य उडान बन्द, पार्किङ शुल्क मिनाहा गर्ने तयारी
जहाज थन्किँदा प्रत्येक महिना करिब ढेड अर्ब रुपैयाँ घाटा भइरहेको आन्तरिक वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेशकुमार वर्माले जानकारी दिए। उनले भने, ‘आन्तरिक वायु सेवा कम्पनीले एक वर्षमा ४० लाख वटा उडान गर्ने र त्यसमा २० देखि २५ प्रतिशत पर्यटक हुने गर्थे।’

संघका अनुसार आन्तरिक जहाज कम्पनीले चालु आर्थिक वर्षको फागुनसम्म करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेका थिए। अघिल्लो आर्थिक वर्षमा करिब साढे १७ अर्ब रुपैयाँ आम्दानी गरेका विमान कम्पनीले यो वर्ष करिब २० अर्ब रुपैयाँ आम्दानीको लक्ष्य लिएका थिए। यसमा नेपाल एयरलाइन्स, हिमालय र श्री एयरलाइन्सको आम्दानी भने समेटिएको छैन। ‘यो वर्ष भ्रमण वर्ष पनि घोषणा गरेको आन्तरिक तथा बाह्य चहलपहल बढ्ने र कुल आम्दानी पनि ५ देखि १० प्रतिशतले बढ्ने अपेक्षा थियो। तर, अहिले कम्पनी घाटामा गइरहेका छन्’, उनले भने।

राष्ट्र बैंकलाई विमान कम्पनीलाई सञ्चालन खर्च हुने गरी २ देखि ४ प्रतिशत व्याजमा थप ऋण दिन आग्रह गरिएको संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए। अहिले विमान कम्पनीले तिर्ने ऋणको व्याजमा २ प्रतिशत कमी गरिएको छ। त्योबाहेक सरकारले केही राहत दिन नसकेको उनको भनाइ छ। आन्तरिक एयरलाइन्स कम्पनीहरूमा १ खर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको बताइन्छ। २१ अर्ब रुपैयाँ भन्दा बढी ऋण र मासिक किस्ता २५ करोड रुपैयाँभन्दा बढी बुझाउनु पर्ने नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांक छ।
स्रोतः थाहाखबर