भारतले धमाधम नेपाली पठाउन थालेपछि नवलपरासीमा कोरोना जोखिम बढ्यो

गुगलपाटी संवाददाता
३० बैशाख २०७७ ०९:२५

परासी :  भारतीय सुरक्षाकर्मीले रोकतोकबिना नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुई देशका नागरिकलाई जहाँको त्यही राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीलाई निर्वाध पठाउने गरेको पाइएको छ । त्यसरी नेपाल आउने केही नेपाली भारतीय सुरक्षाकर्मीकै मिलमतोमा ठगिन पुगेको गुनासो छ ।

जिल्लाको महेशपुर, गेर्मी, भूजहवा, झोलनीपुर, बलिनगर, लक्ष्मीपुर, विस्नुपुरालगायतका नाका र लुकीछिपी घर आउनेको संख्या बढ्दो छ । संख्या बढ्दै गए अबको एक साताभित्र भारतबाट जिल्ला भित्रिनेको संख्या करिब ४ हजारको हाराहारीमा पुग्ने स्थानीय तहका प्रमुखहरुको अनुमान छ।

दिनप्रतिदिन संख्या बढ्न थालेपछि स्थानीय तहलाई उनीहरुको व्यवस्थापन गर्न समेत समस्या भएको छ । जसका कारण जिल्लामा जोखिम बढेको हो । भारतीय सुरक्षाकर्मीले धमाधम नेपाल पठाउन थालेपछि हप्ता दिनको अवधिमा क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बरले वृद्धि भएको छ । हप्ता दिनअघि क्वारेन्टाइनमा बस्नेको संख्या १ सय १५ रहेपनि सोमबार दिउँसोसम्म संख्या बढेर २ सय १९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ति सबै भारतबाट आएका हुन् ।

२८ किलोमिटर सीमा क्षेत्रमा फैलिएको यो जिल्ला भारतको बिहार र उत्तर प्रदेशसँग जोडिएको छ । सोमबार दिउँसोसम्म जिल्लाको सीमा क्षेत्रको दसगजा क्षेत्रमा करिब १ सय ५० को हाराहारीमा नेपालीहरु आएर बसेका छन् ।

आइतबारदेखि आएका उनीहरुलाई सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले आउन नदिएपछि दसगजामै अलपत्र छन् । उनीहरु खुला आकाशमा बस्न बाध्य छन् । केही मजदुर बालबच्चासहित छन् । अलपत्र परेकालाई संघसंस्था र सुरक्षाकर्मीले खाना पुर्‍याएका छन् । उनीहरु सबै भारतमा काम गर्न गएका मजदुर हुन् ।

भारतीय सुरक्षाकर्मीले निर्वाध नेपाल पठाउने गरेका कारण समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने । सोमबार दिउँसोसम्म सीमा क्षेत्रका दसगजामा १ सयभन्दा बढी नेपाली अलपत्र परेर बसेको उनले बताए ।ुनेपालबाट भारत जान खोज्ने र भारतबाट नेपाल आउन खोज्नेलाई त्यहीको सरकारले व्यवस्थापन गर्ने सहमति भएपनि भारतीय सुरक्षाकर्मीले बिना रोकतोक पठाउँदा समस्या भयो। सरकारले यता नल्याउ भन्छ ।नीतिगत समस्याले हामीले पनि ल्याउन सक्दैनौं, प्रजिअ दाहालले भने ।

उताबाट आएका नेपालीलाई शसस्त्र प्रहरीले बुझाउन जाँदा भारतीय सुरक्षाकर्मीले लिन नमान्दा उनीहरुको गाँस र बाँसको समस्या भएको उनले बताए । भारत सरकारले मजदुरका लागि ट्रेन (रेल) सञ्चालन गरेको छ । त्यहाँबाट नेपाली सीमासम्म डिपो गाडी ९सरकारी बस० सञ्चालन गरेको छ । त्यसले गर्दा नेपालीहरु धमाधम घर फर्कन थालेका हुन् ।

गुजरातबाट रेल चढेर गोरखपुरसम्म आएका सुनवल नगरपालिका वनकट्टीका सोनु लोहारले नेपाली धमाधम घर आउन थालेको बताए । म गोरखपुरसम्म ट्रेनमा आए । त्यहाँबाट डिपो गाडीमा ठूठीबारसम्म आएपछि घर आएका हुँ, उनले भने, घर आएपछि उनलाई सुनवल नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा लगिएको छ ।

बस्ती जिल्लाको बलरामपुरस्थित एक फर्निचर उद्योगमा काम गर्ने सुस्ता गाउँपालिका रामनगरका गोबिन्द वनियाँले भारतीय सुरक्षाकर्मीले सामान्य सोधपुछ गरेपनि अवरोध नगरी नेपाल आउन दिएको बताए । आइतबार उनीसँगै आउने १७ नेपाली अहिले सुस्ताको बलिनगर सीमाको दसगजामा चौरमा बसेका छन् । बलिनगर सीमाको दसगजामा मात्र करिब ७० बढी नेपालीहरु अलपत्र रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

भारतमा रेल र बस चलेपछि अहिले स्थानीय तहका प्रमुखहरुलाई आफूहरु घर फर्कन लागेको भन्दै जानकारी दिन थालेका छन् । मलाई ३० जना जतिले फोन गरेर घर आउँदै छु भनेका छन् । फोनमा बताएअनुसार १÷२ दिनमा करिब ३ सय बढी नेपाली सुस्ता आउँदैछन्, गाउँपालिकाका अध्यक्ष पाण्डेले भने, स्थिति भयावह बन्दै छ । उनीहरुको व्यवस्थापन गर्न पनि समस्या भएको छ । त्यो भन्दा ठूलो समस्या कोरोना संक्रमण फैलिन सक्ने छ।

भारतीय सुरक्षाकर्मीले निर्वाध आउन दिँदा यस्तो समस्या आएको उनले बताए ।ुदसगजामा आइसकेपछि व्यवस्थापन त गर्न पर्‍यो तर नेपाल ल्याउन अनुमति नभएकाले नेपाली सुरक्षाकर्मीले नै दसगजाबाट पठाउन मानेका छैनन् , उनले भने जिल्लामा करिब ४ हजारको हारहारीमा एकहप्ता भित्र नेपाली भारतबाट आउन सक्ने उनको अनुमान छ ।

भारतबाट नेपाल आउनेको संख्या बढ्न चालेपछि आफूले ५ हजार जनालाई राख्न सक्ने गरी संघसंस्था र विद्यालयहरुको छनौट गरी तयारी अवस्थामा राख्ने पहल सुरु गरिएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए ।

भारतीय प्रहरीको मिलमतोमा लुट

भारत उत्तरप्रदेशस्थित बस्ती जिल्लाको बलरामपुरका विभिन्न उद्योगमा काम गर्ने १७ जनाहरुले भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा आफूहरु लुटिन पुगेको गुनासो गरेका छन् । नेपाल आउन थालेका उनीहरुलाई सडकमा देखेपछि त्यहाँको प्रहरीले केरकार गर्न थालेको थियो ।

त्यसक्रममा उनीहरु घर जान चाहेको बताएपछि प्रहरीले नै भाडाको गाडी व्यवस्था गरेको थियो । ुहामीलाई लिन प्रशुराम चौकी भित्रै गाडी आयो । सुस्ताको सीमासम्म पुर्‍याउन ३४ हजार लाग्ने जनाएपछि प्रहरीकै अगाडी पैसा दियौं, सुस्ता गाउँपालिका रामनगरका गोबिन्द वनियाले भने।

१७ जनाको समूहमा रहेका उनीहरुसँगै चौकीले एकजना प्रहरीलाई पनि साथै पठाएको थियो । करिब १ सय किलोमिटर पछि महाराजगञ्ज जिल्लाको फरेन्दामा सुरक्षाकर्मीको चेकजाँच थियो । तपाईहरु चेकजाँच गराएर आउनुस् हामी यही छौं भनेर पठाए । पछि आउँदा प्रहरी र गाडी दुबै भागेछन्, वनियाँले भने ।

रकम नभएपछि आफूहरु फरेन्दाबाट करिब १ सय २० किमि पैदल सुस्ताको बलिनगर दसगजामा आएको उनले बताए । प्रहरी साथमा आएपछि हामी ढुक्‍क थियौं तर प्रहरी र चालकले हामीलाई ठगेर भागे, उनले भने ।
स्रोतः अन्नपुर्णपोस्ट