बागलुङबाट यसरी गएका थिए पर्साका १४ संक्रमित

गुगलपाटी संवाददाता
३१ बैशाख २०७७ ०७:५५

बागलुङ  : जिल्लाबाट घर गएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङमा फेरि कोरोना संक्रमणको जोखिम बढेको छ। मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना मध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै बागलुङको गलकोट नगरपालिकाबाट गएको थाहा भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ।

यस क्रममा संक्रमित मजदुरको समूहलाई छोड्न गएका बसका चालक, सहचालकसहित चार जनालाई रामरेखा स्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको स्वाब समेत संकलन गरिएको र बुधबार नै पीसीआर परीक्षणका लागि पोखरा पठाइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। ‘पर्साका स्वास्थ्य कार्यालय प्रमुखसँग छलफल गरी कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छौँ’, जनस्वास्थ्य अधिकृत गुरौले भने–‘यसबाहेक भारत, बुटवल लगायतका स्थानबाट आएका एक दर्जन बढीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारीमा छौं।’ गलकोट क्षेत्रमा उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुका बारेमा समेत खोजी शुरु गरिएको गुरौले जानकारी दिए।

गलकोटमा मजदुरी गर्दै आएका उनीहरुलाई गत बैशाख ११ गते गलकोट नगरपालिकाले दुई वटा बसको व्यवस्था गरी घर पठाएको थियो। गलकोट नगरपालिकाको हरिचौर, मल्म, हटिया, नरेठाटी लगायतका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, घर निर्माण, फर्निचर, खानेपानी लगायतका योजनामा काम गर्दै आएका उनीहरुले पटक–पटक आग्रह गरेपछि सवारी पास बनाएर बस पठाएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले जानकारी दिए।

‘हामीले राहत पनि दियौ, खानाको समस्या भए हामी व्यवस्थापन गर्छौं, यो बेला नजानुस् भनेर अनुरोध गरेका थियौ,’ उनले भने, ‘उनीहरुले जाने अडान नछोडेपछि गाडी र पासको व्यवस्था गरेर पठाएका हौँ।’

गलकोटबाट बसमा गएका उनीहरूलाई पोखरा पुगेपछि कास्की प्रशासनले रोकेको थियो। अलपत्र परेपछि उनीहरूले पर्सा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुम्तालाई सम्पर्क गरी उद्धारका लागि आग्रह गरेका थिए। ‘बाटोमा दुई दिनदेखि अलपत्र परेको भनी फोनमार्फत जानकारी गराउनु भयो,’ गाउँपालिकाका अध्यक्ष गुप्ताले भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ, क्वारेन्टाइनको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने कुरा भयो, हामीले सवै व्यवस्था गर्छौ भनेपछि ल्याइएको हो।’

चैत्र तेस्रो साता बेल्जियमबाट फर्किएका बाग्लुङका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्रास सिर्जना भएको थियो। बैशाख दोस्रो साता बानपा ३ की ६५ वर्षीय मनकुमारी पौडेल र बानपा ४ की १९ वर्षीया अंशु सापकोटा दुवै निको भएर घर फर्किएपछि बागलुङबासी भयमुक्त थिए।

पछिल्ला दुई दिन बजारमा गाडी र मानिसको चहलपहल बढेको थियो। तर पर्सामा जिल्लाबाट गएका मजदुरमा संक्रमण भेटिएको खबर छि पुनः लकडाउनलाई कडाइ गरिएकोे प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। ‘यहाँबाट गएको मजदुरमा संक्रमण कसरी भयो रु भन्ने पुष्टि हुन बाँकी छ,’ प्रजिअ शैजुले भने, ‘हामी अलर्ट अवस्थामा बस्नुपर्ने भएको छ।
स्रोतः अन्नपुर्णपोस्ट