भारतीय विस्तारवादको विरोध, ५ पक्राउ

गुगलपाटी संवाददाता
३१ बैशाख २०७७ ०८:४८

भोजपुर : भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र पावीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार भोजपुर सदरमुकामको जिरोप्वाईन्टस्थित सो समुहले ‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापनी, लिपुलेक हाम्रो हो’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

देशको सीमा बचाउ अभियानमा लागेका उनीहरुलाई सरकारले बलपूर्वक पक्राउ गरेको आरोप लगाएका छन् । शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा पनि प्रहरीले बलपूर्वक पक्राउ गरेको संयोजक गोपाल मोक्तानले आरोप लगाए ।

यता प्रहरीले उनीहरुलाई लकडाउनको अवज्ञा गर्दै सरकार विरोधी प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले भने, ‘लकडाउन र सरकार विरोधी गतिविधी गर्नुभएकोले गृहमन्त्रालयको निर्देशन पालना गर्न उहाँहरुलाई नियन्त्रणमा लिएका हौँ।’