प्रहरीमा ब्यापक सरुवा,तीन नम्बर प्रदेशको जिम्मा डिआइजी थापालाई

गुगलपाटी संवाददाता काठमाडौं
५ जेष्ठ २०७५ १०:२४

प्रहरी प्रधान कार्यालयले बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक पदस्थापन गरेको छ।

प्रदेश नम्बर ३ हेटौंडामा डीआईजी दीपक थापालाई पठाइएको छ।३ प्रदेश प्रहरी कार्यालय हेटौंडा पदस्थापन गरिएका डीआईजी थापा पनि इन्चार्जबाट इन्चाजमै पुग्ने भाग्यमानी प्रहरी अधिकृत बनेका छन्। उनी यसअघि संघीय प्रहरी एकाई कार्यालय लुम्बिनीको इन्चार्ज थिए।
शुक्रबार राति एसएसपीबाट डीआईजीमा बढुवा भएका १६ जना र प्रहरी उपरीक्षक बाट एसएसपीमा बढुवा भएका २२ जनाको पदस्थापन गरेको हो।

प्रहरी मुख्यालयले शुक्रबारै पाँच जना डीआईजी र ११ जना एसएसपीको सरुवा गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख एआईजीहरू अनिवार्य अवकाश पाएर खाली रहेका ती कार्यालयमा डीआईजीलाई खटाइएको छ। प्रदेशमा खटाइएका केही डीआईजीलाई भने दोहोरो जिम्मेवारी दिइएको छ।

जसअनुसार प्रदेश प्रहरी कार्यालय १ मा डीआईजी केदार रिजाल, दुई नम्बर प्रदेश जनकपुर हेर्ने गरी डीआईजी दिनेश अमात्यलाई सरुवा गरिएको छ। तर अमात्यलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी समेत दिइएको छ।

चार नम्बर प्रदेश दानसिंह बोहरालाई सरुवा गरिएको छ। डीआईजी शेरबहादुर बस्नेतलाई पाँच नम्बर प्रदेशसँगै प्रहरी महानिरिक्षकको सचिवालयको जिम्मेवारी समेत दिइएको छ। अब उनी नै प्रहरी केन्द्रीय प्रवक्ता हुनेछन्। त्यसैगरी ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुरेशविक्रम शाह र ७ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख शरद चन्दलाई भने यथावत गरिएको छ।

प्रहरी मुख्यालयले हालै मात्रै बढुवा भएका नयाँ डीआईजीहरूलाई बढुवाको प्राथमिकतामा राखेकोप्रति असन्तुष्टि देखा परेको छ। शुक्रबार सरुवा गरिएका मध्ये डीआईजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ। कार्की महानगरीय प्रहरी कार्यालय रानीपोखरी जान चाहेका थिए।

महानगरीय प्रहरीमा भने प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजी मनोज न्यौपानेलाई पठाइएको छ। काठमाडौंको पुलिसिङबारे न्यौपाने कार्की भन्दा कमजोर मानिन्छन्। कार्कीले काठमाडौं प्रहरी, अपराध महाशाखा र सीआईबीको कमान्ड गरिसकेका थिए। डीआईजी पिताम्बर अधिकारीलाई विशेष ब्यूरोको प्रमुख बनाइएको छ। यसअघि उनी संघीय प्रहरी एकाई कार्यालय मेचीमा कार्यरत थिए।

डीआईजी बोहोरा पनि बढुवाअघि संघीय प्रहरी एकाई कार्यालय सेतीमा थिए। एआईजी नहुँदा केही डीआईजीलाई एआईजी प्रमुख रहने कार्यालयमा सरुवा गरिएको छ।

जसअनुसार डीआईजी छविलाल जोशीलाई कार्य विभाग, डीआईजी ज्ञानबिक्रम शाहलाई मानव श्रोत विकास विभागमा सरुवा गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोका डीआईजी ठूले राईलाई भने यथावत राखिएको छ।

एसएसपीको पदस्थापन र सरुवामा भने विवाद देखिंदैन। जसअनुसार २२ जना नयाँ एसएसपीहरु मध्ये राजेन्द्र ढकाल, शरदकुमार खत्री, हरिराज वाग्ले, विक्रमबहादुर चन्द, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, शेखर कोइरालालाई संघीय प्रहरी एकाई कार्यालयहरु क्रमशः लुम्बिनी, मेची, सेती, महाकाली, कर्णाली, गण्डकी र जनकपुरमा पदस्थापन गरिएको छ।

त्यस्तै एसएसपीहरु सहकुलबहादुर थापा निरीक्षण तथा सुपरिवेक्षण महाशाखा, पुजा सिंह महानगरीय प्रहरी कार्यालय रानीपोखरी, मुकुन्दराज आचार्य अन्वेषण योजना निर्देशनालय, दिलिपबहादुर बस्नेत अपराध अनुसन्धान महाशाखा, भोजजंग शाह सुरक्षा परिषद्, देवबहादुर बोगटी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नलप्रसाद उपाध्याय आतंकवाद नियन्त्रण महाशाखा, नरबहादुर खत्री विपद् व्यवस्थापन महाशाखा, प्रदिपकुमार श्रेष्ठ अपराध नियन्त्रण तथा सामुदायिक सुरक्षा महाशाखा, विभुतिराज पाण्डे यूएन शाखा, सुशिलकुमार यादव युएन जगेडामा पदस्थापन गरिएको छ।

प्रहरी मुख्यालयका अनुसार यो पटक ११ जना एसएसपी सरुवामा परेका छन्। जसअनुसार घनश्याम अर्याल, हरिभक्त प्रजापति, सौरभ राणा, तारणीप्रसाद लम्साल क्रमशः संघीय प्रहरी एकाइ कार्यालय भेरी, सगरमाथा, बागमती नारायणीमा सरुवा गरिएको छ।

त्यसैगरी ठाकुरप्रसाद ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको उपप्रमुख, वसन्तकुमार पन्त महानगरीय ट्राफिक प्रहरी महाशाखा, उमेश रञ्जितकार मध्य क्षेत्रीय तालिम केन्द्र दुधौली सिन्धुली, सुर्यप्रसाद उपाध्याय अपराध अनुसन्धान विभागको वैदेशिक महाशाखा र देवबहादुर बोहरालाई मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ। एसएसपी धिरजप्रताप सिंहलाई भने महानगरीय प्रहरी अपराध महाशाखामै कायम गरिएको छ।