संक्रमितको सम्पर्कमा आउने बढ्दो
गुगलपाटी संवाददाताभक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका दुईजनाको सम्पर्कमा आउनेहरुको संख्या बढिरहेको पाइएको छ । उनीहरुको सम्पर्कमा आउनेहरुको पहिचानसँगै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाइएको छ । त्यसको लागि चाँगुनारायण नपा ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइन स्थलमा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार राती भक्तपुरका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत २७ वर्षीय सशस्त्र प्रहरी जवान र ललितपुरको आरोग्य प्रष्ठिानमा काम गर्ने मध्यपुर थिमि नपा ४ शंखधर चोकमा साथीसँगै बसेकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरी जवानको घर रहेको दुवाकोट क्षेत्र र स्टाफ नर्स डेरी गरी बसेको शंखघर चोक क्षेत्र बुधबार बिहानै सिल गरिसकेको छ । दुवाकोटमा सशस्त्र प्रहरीले र शंखधर चोकमा नेपाल प्रहरीले सिल गरेको हो । यी क्षेत्र पुग्ने सम्पूर्ण नाकाहरु बन्द गरिएको भक्तपुर प्रहरीले जनाएको छ । ती दुई क्षेत्र सिल गरेसँगै संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने कार्य भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
उनका अनुसार सशस्त्र प्रहरी जवानको परिवार र स्टाफ नर्स डेरी गरी बस्ने घरमा बसेका सबैको पहिचान भइसकेको छ ।‘संक्रमित सशस्त्र प्रहरीको घरपरिवार र स्टार्फ नर्स डेरा गरी बसेको घरका सबैको पहिचान भइसकेको छ’, प्रजिअ पाण्डेले भनिन्, ‘संक्रमितसँगको सम्पर्कमा गएकाहरु बढ्ने क्रम जारी छ ।’
स्टाफ नर्स संक्रमित भएकाले उनी काम गर्ने ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसन तथा निदान अस्पतालमा समेत सिल गरिसकिएको छ ।
ती स्टाफ नर्ससँगै डेरामा बस्ने भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी नर्सलाई समेत अहिले भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनी बैशाख २६ गतेदेखि केन्द्र नपुगेकोले कोरोना भाइरस संक्रमणका दृष्टिले केन्द्रले सुरक्षित रहेको केन्द्रका प्रशासन अधिकृत हरिहर पोखरेलले बताए । संक्रमित अर्का स्टाफ नर्स वैशाख २९ गते उनको कोठा पुगेकी थिइन् ।
‘हामीकहाँ काम गर्ने नर्स वैशाख २६ गतेदेखि केन्द्रमा आएकी छैनन्’, उनले भने, ‘तैपनि उनको बुधबार दू्रत परीक्षण गराउँदा नेगेटिभ आएको छ ।’
उनको द्रूत परीक्षण ९आरडीटी० नेगेटिभ भएको तर पीसीआर परीक्षणको रिपोर्ट आइनसकेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सुमित्रा गौतमले जानकारी दिइन् । उनका अनुसार बुधबारमात्रै भक्तपुर अस्पतालमा ८५ जनाको कोरोना परीक्षण भएको छ । जसमा ६४ जनाको आरडीटी र २१ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको उनले स्पष्ट गरिन् ।
आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ थियो । भक्तपुरमै कोरोना भाइरस संक्रमित भेटिएकाले अस्पतालमा रहेको आडीटी कीटले भ्याउने सम्भावना नरहेको मेसु डा। गौतमले बताइन् । रामेछाप स्थायी घर भएका सशस्त्र प्रहरीका जवान महिनादिनदेखि नै चाँगुनारायण नपा १ दुवाकोटमा बनाएको घरमै बस्दै आएका छन् ।
सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा २५ वर्षीया स्टाफ नर्स वैशाख २९ गते झुम्काबाट भक्तपुर आएकी थिइन् । घरबाट आएलगत्तै बिरामी भएपछि उनी मंगलबार टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
सशस्त्र प्रहरी जवानको स्वायब भने सशस्त्र प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । जसको रिपोर्ट पनि पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार राती प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । संक्रमित दुवैको टेकु अस्पतालमा उपचार भइरहेको छ ।