त्रिवि शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना

गुगलपाटी संवाददाता
३ जेष्ठ २०७७ ०८:३०

काठमाडौं : त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ। तर शिक्षण अस्पतालले भने यो सूचनालाई लुकाउने प्रयास गरेको छ। अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई कोरोना भएको भन्‍ने पुष्टि गरिएको छैन। स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ ८स्१५ बजे सार्वजनिक गरेको ९ जना संक्रमितको विवरणमा दाङको तुलसीपुर उपमहानरपालिका–७ का निवासी पुरुषलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालका एक बिरामीमा कोरोना पोजेटिभ

त्यसपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आफ्नो क्षेत्रबासी भनेर सार्वजनिक गरिएको विवरणका व्यक्ति काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको जनाएका थिए। स्थायी ठेगाना तुलसीपुर=७ उल्लेख भए पनि उनी शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत रहेको खुलेको हो। कपिलवस्तुबाट आएकी बालिकालाई कोरोना देखिएपछि शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो। जसमध्ये बालिकाको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। यसअघि शिक्षणकै न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकमा बिहीबार कोरोना संक्रमण भेटिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती बिरामी बालिकासँगै स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको हो। बालिकामा कोरोना देखिएपछि उनको उपचारमा संलग्‍न र सम्पर्कमा पुगेका शिक्षण अस्पतालका ५० भन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारीलाई क्‍वारेन्टिनमा राखिएको छ। क्‍वारेन्टिनमा राखिएकैमध्ये एकजनालाई परीक्षणमा कोरोना देखिएको हो। शिक्षण अस्पतालबाट ७० जनाभन्दा धेरैको नमूना संकलन गरिएको थियो।